मेलमिलाप दिवसमा मकवानपुरमा चियापान

लोकखबर
१६ पुष २०७६, बुधबार ०८:५९

मकवानपुर । पार्टीका संस्थापक विपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको आजको दिन पुस १६ गते ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मा मकवानपुरमा चियापान आयोजना गरिएको छ ।

मकवानपुरको हेटौंडामा कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार एवम् पूर्व सभापति माइकल रामचन्द्र अर्यालले चियापान आयोजना गरेका हुन् । कार्यक्रममा प्रतिनिधीसभाका सांसद विरोध खतिवडा, प्रदेशसभा सांसद एवम् नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देल, प्रदेश सांसद प्रेमबहादुर पुलामी, कांग्रेस नेताहरु रीता खनाल, उमा दाहाल, पार्टी मकवानपुरका कार्यबाहक सभापति विष्णु लामिछाने लगायतको आतिथ्यता थियो ।

कांग्रेसले आज बुधबार मकवानपुर लगायत ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्‍याली, कोणसभालगायत कार्यक्रम गरी ४४ औँ मेलमिलाप दिवस मनाउदैछ ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर २०३३ पुस १६ मा स्वदेश फर्किएका थिए ।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेता बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *