बानियाले किन यस्तो बोले प्रदेशसभामा ?
मकवानपुर । चार महिनापछि प्रदेश ३ को प्रदेशसभा बैठक हिजो सोमबार बस्यो । प्रदेशसभा बकैठकको प्रारम्भमा मुख्यमन्त्री डोरमणि पौडेलले यही हिउँदे अधिवेशनबाट राजधानी तथा नामको विषयमा टुंगोमा पुगिने बताए । त्यसपछि प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाले आफ्नो धारणा राखे । कांग्रेस संसदीय दलका नेता बानियाले नेकपा कारण दुई वर्षसम्म राजधानी तथा नाम तोक्न ढिलाई भइरहेको बताए । अहिले आएर नेकपाको सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौंडा तथा नाम बागमती कायम गर्नका लागि प्रदेशसभा सांसदलाई निर्देशन दिने निर्णयगर्नु प्रदेशसभा सांसदको अधिकार विपरित भएको बताए । सांसदको अधिकार बर्खिलाप हुने गरी निर्देशन दिने नेकपाको निर्णयका विषयमा कांग्रेस संसदीय दलले खेद व्यक्त गरेको उनले दाबी गरे । राजधानीका विषयमा नेकपा सचिवालयको निर्णय सार्वजनिक हुने बित्तिक्कै नेकपाले ठीक गर्यो भन्दै स्वागत गर्ने बानियाले संसदीय दलको बैठकबाट भने नेकपाको निर्णय खेद जनक भएको निर्णय गराए ।
हेटौंडालाई प्रदेशको राजधानी कायम गराउँन प्रदेशसभाको बैठकमा आवाज उठाउने, पार्टी निर्णयको स्वागत गर्ने बानियाले संसदीय बैठकबाट भने नेकपाको निर्णय खेदपूर्ण भएको निर्णय गराएपछि बानिया बोली दुईजिब्रे भएको भन्दै सामाजिक सन्जालमा विभिन्न टिप्पणी भयो । हेटौंडालाई स्थायी राजधानी कायम गर्नुपर्ने बानियाले धारणा राख्ने गरेको भएपनि आफ्नै पार्टीको संसदीय दलको बैठकबाट भने हेटौंडाका पक्षमा निर्णय गराउँन सकेनन् । हेटौंडाबासीको सामु एउटा तर्क अनि आफ्नो पार्टीको प्रदेश ३ को संसदीय दलको बैठकमा अर्कै निर्णय गराएपछि सामाजिक सन्जालमा सांसद बानिया प्रदेश ३ को राजधानी कायम गर्न कुनै भूमिकामा नलागेको भन्दै आलोचना भयो । बानिया भन्दा त प्रदेश राजधानी हेटौंडा तोक्ने राप्रपाका अध्यक्ष तत्कालीन उप प्रधानमन्त्री कमल थापा ठीक भन्ने खालका टिकाटिप्पणीले सामाजिक सन्जाल भरिए ।
राजधानीका विषयमा पार्टी संसदीय दलको निर्णयका विषयमा मकवानपुरबासीका तर्फबाट आलोचना भएपछि त्यसको बचाउमा हिजो सोमबारबाट सुरु हिउँदे अधिवेशनमा बानियाका तर्फबाट नेकपाले निर्देशन दिनु गलत भएपनि राजधानी हेटौंडा हुनुपर्छ भन्ने तर्क आएको विश्लेषण गरिएको छ । प्रदेशसभामा प्रतिनिधीत्व गर्ने नेकपा एक्लैको मतले प्रदेशको राजधानी हेटौंठा हुनसक्ने अवस्थामा नेकपाभित्र राजधानीका विषयमा सहमती हुन नसकिरहेका बेला बानियाले राजधानी हेटौंडा नै हुनुपर्छ तर पार्टीको निर्णय खेदपूर्ण भन्नुले आफ्नो बचाउमा बोली फेरिएको टिप्पणी भइरहेको छ । ‘पार्टीबाट निर्देशन नभई नेकपाको सांसद हेटौंडाका पक्षमा नहुने अवस्था बनिरहेको बेला पार्टीले राजधानी कायम गर्नका लागि गरेको निर्णयलाई चाँही स्वागत नगर्ने, खेदपूर्ण भन्ने अनि राजधानी चाँही हेटौंडा हुनुपर्छ भन्ने ? ’ नेकपाका एक नेता भन्छन्, ‘ पार्टीले निर्देशन दिएर हाम्रो अधिकार हनन गरेको भएपनि यसबाट हामीलाई राजधानीका विषयमा निर्णय लिन सजिलो भएको छ । यस्तो बेलामा हेटौंडा राजधानी चाहिन्छ भनेर माग गर्नेले आफू पनि पार्टीबाट निर्णय गराई अघि बढे राम्रो हुन्थ्यो ।’
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले हेटौंडालाई प्रदेश ३ को राजधानी तोकेकाले कांग्रेस हेटौंडालाई स्थायी राजधानी कायम गर्न चाहन्छ भनेर बानियाले बताउँदै आइरहेका छन् । मुख्यमन्त्री हेटौंडा, प्रमुख प्रतिपक्षी दलको दलका नेता हेटौंडा, प्रदेश राजधानी हेटौंडा भएको अवस्थामा प्रदेशसभाबाट हेटौंडा स्थायी राजधानी भनेर निर्णय लिनुपर्ने आवाज उठीरहेका आपसमा एक भएर सहमतीमा जानुपर्ने मकवानपुरका नागरिकको तर्क छ । राजधानीका विषयमा अन्तिम निर्णय लिने नेकपाभित्र आपसमा असन्तुष्टि हुँदा राजधानीको विषय पेचिलो बनिरहेको छ ।