जस लिने होड

प्रदेश राजधानी हेटौंडा : कमल थापाले हालेको जगमा डोरमणि पौडेलले बनाएको घर

शिव चौलागाईं
२६ पुष २०७६, शनिबार २३:५९

मकवानपुर । प्रदेश ३ को स्थायी राजधानी आइतबार(भोलि) बाट स्थायीमा परिणत हुँदैछ । अहिलेसम्म प्रदेश ३ भनेर भनिदै आइएकोमा अब अब नाममा ‘बागमती’ हुनेछ । भोलिको प्रदेशसभामा सांसदहरुले मतदानको प्रकृयाबाट राजधानी हेटौंडा र नाम-बागमती राख्दैछन् ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नाम र राजधानीका लागि शनिबार (आज) संसदमा छलफलपछि आइतबार (भोली) विहान नौ वजेका लागि बैठक आव्हान गरेका छन् । आइतबार (भोलि) को बैठकबाट राजधानी र नामकरणको टुंगो लाग्ने भएको हो ।

अन्तत ः सत्तारुढ नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पौडेलले प्रदेश ३ को राजधानी हेटौंडा प्रस्ताव पेश गरे । पौडेलको प्रस्तावमा समर्थक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी सांसद रिता माझी र राप्रपा प्रजातान्त्रीककी सांसद रिना गुरुङले प्रदेशसभा बैठकमा समर्थन जनाए ।

शनिवारको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको नाम बागमती प्रस्ताव पेश गरे । बानियाँको प्रस्तावमा सत्तारुढ नेकपाका मुख्य सचेतक रामेश्वर फुँयाल, राप्रपाकी सांसद रिता माझी र राप्रपा संयुक्तकी सांसद रिना गुरुङले लगायतका दलका सांसदले समर्थन जनाए ।

विवेकशील नेपाली र साझा पार्टीले काभ्रेको धुलिखेलमा राजधानी राख्न प्रदेशसभामा प्रस्ताव पेश गरे । नेवा : ताम्सालिङ नाम प्रस्ताव दर्ता खोजेपनि स्वतन्त्र सांसद प्रेम तामाङले प्रस्तावक र समर्थक समेत पाउँन नसक्दा उनले प्रदेशसभामा नाम दर्ता गर्न पनि सकेनन् ।

सरकार गठन भएको दुई वर्षसम्म पनि एउटा नाम र राजधानी तोक्न नसकेको भनदै आलोचना हुने गरेको प्रदेश सरकारले अब यो गुनासो सुन्नु नपर्ने भएको छ । यसैले हुनसक्छ शनिबार (आज) मकवानपुर उद्योग वाणीज्य संघको साधारणसभा उद्घाटन गर्न पुगेका मुख्यमन्त्री डोरमणी पौडेलले भनिदिए–प्रदेश राजधानी पनि तोक्न सकिनस् भन्नेको अब मुख बन्द भयो । उनले यसो भनिरहँदा राजधानी तथा नाम तोक्न अक्षम रहेको भन्दै उनीमाथि कति आलोचना भएको रहेछ भन्ने अनुमान लगाउँन सकिन्छ । ‘मुख्यमन्त्रीको चाहाना हेटौंडा होइन काभ्रे हो, मुख्यमन्त्री पदसंग राजधानी साट्ने सम्झौता भएको छ । ’ भन्ने खालका टिप्पणी राजधानीका विषयमा मुख्यमन्त्रीले लिएको अडानले हावादारी सावित गरिदिएको छ । नेकपा संसदीय दलले गरेको निर्णय अन्तत ः नेकपा संसदीय दल प्रदेश ३ बाट गराउँदै प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई समेत सहमतिमा ल्याएर मुुख्यमन्त्रीले हेटौंडालाई राजधानी बनाउँन खेलेको भूमिका कम आँक्न मिल्दैन । नेकपाको सचिवालय बैठकले प्रदेशको राजधानी हेटौंडा र नाम बागमती राखी प्रदेश ३ को राजधानी टुंगो लगाउँनु भनेर दिएको निर्देशनलाई खेदपूर्ण भन्ने प्रमुख प्रतिपक्ष कांग्रेस प्रदेश ३, संसदीय दललाई आफ्नै लाइनमा ल्याउँदै आफैंले गरेको निर्णय उल्टाउँन लगाउँदै हेटौंडा नै राजधानी बनाउँन समर्थन गर्न लगाउँन सक्ने क्षमता मुख्यमन्त्रीले प्रदर्शन गरे । विपक्षीलाई समेत सहमतीमा ल्याएर आफ्नो एजेन्डा स्थापित गराउँनुसक्नु मुख्यमन्त्री पौडेलको कौशलता नै हो ।

मुख्यमन्त्रीको पहलमा विवेकशील बाहेकका राजनीतिक दल हेटौंडा राजधानीमा सहमती जनाउँनु ठूलै सफलता मान्नुपर्छ । हेटौंडा त कुनै हालतमा हुदैन भन्ने सांसद पार्टीले सही निर्णय गरेको छ भन्दै सहमतीमा आउँनुका पछाडी मुख्यमन्त्री पौडेलको कार्यकुशलताले काम गरेको मान्न सकिन्छ ।

तर अब राजधानी हेटौंडा बनाउँन कसको कस्तो पहल कस्तो भन्दै राजधानी घोषणा हुनुपूर्व होडबाजी सुरु भइसकेको छ । तत्कालीन शेरबहादुर देउवा सरकारको पालामा देउवाले हेटौडालाई राजधानी बनाउँन हुन्न भनेर तत्कालीन उर्जामन्त्री कमल थापासंग मन्त्रिपरिषदमा डिस्कस परेर केहीबेर मन्त्रिपरिषद बैठक स्थगित समेत भएर पछि कमल थापाको चाहाना बमोजिम हेटौंडामा अस्थायी राजधानी तोक्नका लागि तत्कालीन प्रधानमन्त्री देउवा तयार भएको त्यतिबेला खबर आएका थिए । तत्कालीन सत्ता साझेदार बिचमा भएका गिभ एन्ट टेकका आधारमा चुनावका बेलामा हेटौंडाबाट मत पाउने अपेक्षामा कमल थापाले हेटौंडामा तोकेको राजधानी अब नेकपा सरकारले स्थायी बनाउँदैछ । नेकपा सचिवालयले गरेको बैठकको निर्णय नमान्ने धम्की दिने सांसदलाई पनि सहमतीमा ल्याएर हेटौंडामा राजधानी कायम गराउँन लागिपरेका मुख्यमन्त्री डोरमणि पौडेल यतिबेला सबैभन्दा बढी चर्चाको पात्र बन्नु स्वभाविक हो ।

प्रदेशसभामा राजधानी कायम गर्नका लागि आइतबार विहान ९ वजेबाट मतदान हुदैछ ।सभामुख भन्दा बाहेक एक सय ६ जना सांसदले स्थायी राजधानी हेटौंडाको पक्षमा मतदान गर्ने पक्का छ । प्रदेशको नाम बागमती मात्रै भएकाले यही नाममा सबै दलका सांसदले मत दिने निश्चित छ । प्रदेश नम्बर ३ मा एक सय १० जना सांसद रहेका छन् । सवै भन्दा वढी नेकपाको मात्र ८० जना सांसद रहेका छन् । नेकपा एक्लैले राजधानी तथा नामकरणको टुंगो लगाउँन सक्ने भएपनि सकेसम्म सहमतीको प्रयासमा मुख्यमन्त्री पौडेल लागिपरेका थिए । अहिले यो जस लिने होडबाजीमा राजधानी हेटौंडा बनाउँने विषयमा कमल थापाले हालको राजधानी हेटौंडा बनाउँने जगमा डोरमणि पौडेलले घर बनाए भन्ने विश्लेषण छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*