पत्रकारिता गर्न अब परीक्षा दिएर लाइसेन्स लिनुपर्ने
मकवानपुर । अब पत्रकारिता गर्नेले अनिवार्य रुपमा परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने भएको छ । मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनेहरूका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको हो ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सोमबार सर्वसम्मतिमा नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयक पारित भएको हो । समिति सभापति परशुराम मेघी गुरुङले अहिले पत्रकारिता पेशामा संलग्न व्यक्तिहरूको हकमा कुनै लाइसेन्सको व्यवस्था नगरिने तर नयाँ आउन चाहानेका लागि काउन्सिलको पाठ्यक्रमका आधारमा परीक्षा लिने व्यवस्था गर्ने सहमतिसहित पारित गरिएको जानकारी दिए ।
दण्ड जरिवानाको व्यवस्थाका विषयमा अदालतबाट गराउने तर काउन्सिलले आचारसंहिता उल्लंघन गर्नेलाई प्रकृति हेरेर सचेत गराउनेदेखि लिएर निलम्बन गर्ने वा प्रमाणपत्र खारेजिका लागि सम्बन्धित निकायले सिफारिस गर्न सक्ने व्यवस्था पनि विधेयकमा गरिएको छ ।
यस्तै, विेधेयकमा काउन्सिलको अध्यक्षमा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको व्यक्ति मात्रै हुन पाउने व्यवस्था गरिएको छ।