प्रदेश राजधानीमा व्यवस्थित पार्किङ नभएकोमा सरोकारवालाको चिन्ता

रेडियो थाहासंचारको वार्षिकोत्सव अन्तर्गत अन्तरक्रिया, भोलि रक्तदान हुने
लोकखबर
१ फाल्गुन २०७६, बिहीबार १८:३६

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाको पार्किङ व्यवस्थित नभएकाले शहरको सुन्दरता बिग्रीरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
विहीबार मकवानपुरको हेटौंडामा रेडियो थाहा संचार ९९ दशमलव ६ मेगाहर्जले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन ‘हेटौंडामा पार्किङ व्यवस्थापनबारे अन्तरक्रिया’ मा सरोकारवालाले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

विन्दवासिनी मिडिया प्रा.लि.ले संचालन गरिरहेको रेडियोको बाह्रौं वर्ष पूरा गरी तेह्रौं वर्ष प्रवेशका अवसरमा मकवानपुर उद्योग वाणीज्य संघको सभाहलमा आयोजित अन्तरक्रियामा हेटौँडाका विभिन्न सडक तथा अन्य स्थानमा आवातजावत हुने सवारी साधनलाई पार्किङ गरिरहेकोले हेटौँडाको सुन्दरतामा आँच पुगेको बताइएको हो ।

अन्तरक्रियामा बक्ताहरुले बजार क्षेत्रमा पार्किङ गरिएको सवारीलाई बजार क्षेत्रभन्दा पर खुल्ला स्थानमा व्यवस्थापन गर्न सम्बन्धित निकाय समक्ष ध्यानाकर्षण पनि गराएका छन् ।

हेटौंडा उपमहानगरपालिकाका उप मेयर मीना लामाले हेटौंडा शहरलाई सफा, सुन्दर,फूलै–फूलको शहरको रुपमा विकास गर्न आफूहरु योजनाका साथ लागिरहेका बेला व्यवस्थित पार्किङ नहुँनु दुःखद भएको बताइन् । ‘हेटौंडा बागमती प्रदेशको राजधानी त भयो तर व्यवस्थित पार्किङ नभएका कारण बजारमा सुन्दरता हराउँन थालेको छ । ’ उनले भनिन् । पछिल्लो समय हेटौंडा तीब्र गतिमा विकास भएकाले उत्तिक्कै चुनौतीहरु पनि रहेको उनले बताइन् । ‘अहिले साँघुरो सडकका कारण व्यवस्थित पार्किङ छैन ।’ लामाले भनिन्, ‘ हाइवेमा मानव बस्ती परेकाले हामी समस्यामा परेका हौं ।’ पछिल्लो समय हेटौंडा बजारमा भित्रिएका अटो तथा विद्युतीय रिक्साका कारण पनि ट्राफीक व्यवस्थापन चुनौतीको विषय बनेको लामाले बताइन् । साना सवारी साधन अटो तथा विद्युतीय रिक्साले आम सर्वसाधारणको दैनिकीलाई सहज बनाएको तर अव्यवस्थित पार्किङका कारण हेटौंडा विकासका लागि समस्या भएको उनले बताइन् । अब हेटौंडा उपमहानगरपालिका सरोकारवालासंग सल्लाह गर्दैै व्यवस्थित पार्किङ गर्ने कार्यमा लागिपर्ने उनले बताइन् । उनले नीजि सवारीलाई पार्किङ गर्नका लागि आगामी वर्षमा प्रत्येक घर निर्माणका क्रममा पार्किङ व्यवस्था वा अन्डरग्राउण्ड पार्किङ राख्नैपर्ने मापदण्ड तय गर्न थालिएको उनले बताइन् ।

जिल्ला ट्राफीक प्रमुख हरिविष्णु ढकालले प्रहरीले मात्रै पार्किङ व्यवस्थापन गर्न नसकिने बताउँदै सर्वसाधारणले पनि विना वर्दीको प्रहरीको भूमिका खेलेमा पार्किङ व्यवस्थापनमा सजिलो हुने बताए । पर्याप्त जनशक्ति तथा स्रोत साधन अभावका कारण सोचेजस्तो काम गर्न नसकेपनि आफूहरुले सकेजति गरेको उनले बताए । ‘ हेटौंडामा ट्राफीक व्यवस्थापनका लागि हामीले सकेजति गरिरहेका छौं । अझै पनि स्रोतसाधनले भ्याय जति कार्य गर्न हामी लागिपर्छौं ।’ उनले भने, ‘सबै सरोकारवालासंग हामी पार्किङ्,ट्राफीक व्यवस्थापनका विषयमा छलफलमा बसेका छौं । तर एकले अर्कालाई दोष दिने गरेका कारण समस्या समाधान हुन सकिरहेको छैन ।’ आफूहरुले ट्राफीक व्यवस्थापन कार्यमा स्थानीय सरकारबाट सहयोग पाइरहेको उनले बताए । ट्राफीक व्यवस्थापनका लागि हेटौंडाको चार–पाँच वटा ठाउँमा वान–वे बनाइएको पनि उनले बताए । विगत पच्चिस–तीस वर्षअघिका लागि निर्माण गरिएको सडक अहिलेको व्यस्त अवस्थामा उपयुक्त नहुने बताउँदै ट्राफीक प्रमुख ढकालले ट्राफीक व्यवस्थापन गर्ने हो र हेटौंडाको विकास गर्ने हो भने सडक फराकिलो पार्नैपर्नेमा जोड दिए । हेटौंडामा अहिले विभिन्न ठाउँमा संचालनमा रहेका पार्किङ् क्षेत्रलाई व्यस्त बजार क्षेत्र वरपर सार्नुपर्ने अहिलेको आवश्यकता भएको उनको भनाई छ ।

अन्तरक्रियामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल, १० नम्बर वडाका अध्यक्ष किताबसिं लामा, उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष बासु खतिवडा, नारायणी यातायात व्यवसायी संघका पूर्व अध्यक्ष बद्रीप्रसाद चौलागाइ, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा फर्निचर व्यवसायी संघका केन्द्रिय अध्यक्ष रामप्रसाद न्यौपाने, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण गुप्ता, खाद्यन्न व्यवसायी संघका अध्यक्ष विजयसागर श्रेष्ठ, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाइ,कपडा व्यवसायी संघका अध्यक्ष तेजप्रसाद अधिकारी, जुत्ता चप्पल व्यवसायी संघका अध्यक्ष रामहरि तिमल्सिना, उद्योग वाणिज्य संघका कोषाध्यक्ष अनिल अग्रवाल, माछामासु व्यवसायी संघका महासचिव नारायण राजथला लगायतले हेटौंडाको सडक साँघुरो बन्दै गएकाले पार्किङ व्यवस्थापनका लागि उपयुक्त कदम चाल्नुपर्ने धारणा राखे ।

साना अटो तथा विद्युतीय रिक्साका कारण बजार क्षेत्रको पार्किङ अस्तव्यस्त भएकोमा सहभागीहरुले जोड दिए । हेटौंडा बजारलाई ट्राफीक व्यवस्थापनका लागि ठूला सवारीलाई उत्तरतर्फबाट आउनेलाई चौकीटोलबाट, पश्चिमबाट आउनेलाई राप्ती पुलबाट व्यवस्थापन गर्न सकिएमा बजारमा चाप नहुने सुझाव दिए । ढुङ्गा गिट्टी बोक्ने सवारीलाई साँझदेखि रातीसम्मको निश्चित समय तोकिनुपर्ने, सामान ढुवानीका साधनहरुलाई लोड अनलोड गर्न साँझ र विहानको समय निर्धारण गरिनुपर्नेमा पनि बक्ताहरुको जोड छ ।

हेटौंडाको सीमाचोक, बुद्ध चोकमा रहेको म्याजिक स्टेशनलाई अन्तै सार्न सकिएको खण्डमा बजारको सुन्दरता जोगाउन सकिने बक्ताहरुको भनाई छ । छलफलमा सहभागीहरुले हेटौंडा उपमहानगरपालिका, यातायात व्यवसायी संघ, स्थानीय तह, यातायात व्यवस्था कार्यालय, व्यवसायी, सवारी चालक सबै पक्ष जिम्मेवार हुन सकेमा हेटौंडामा पार्किङ् व्यवस्थापन सहज हुनसक्नेमा सहभागीको जोड छ ।

अन्तरक्रियाका अध्यक्ष एवं रेडियो थाहासन्चारका संचालक अरुणराज सुमार्गीले हेटौंडा बजारलाई व्यवस्थित गर्न सरोकारवालाको प्रतिवद्धता र व्यवहारलाई परिवर्तन गर्न जरुरी रहेकोमा जोड दिए । व्यक्तिमा आडम्बर र देखावटी प्रवृतिले गर्दा बजार व्यवस्थापनमा समस्या रहेको उनले बताए । ‘जो शक्तिमा छ, उसले समस्या समाधानका लागि ध्यान दिन नसक्दा समस्या भईरहेको छ । ’ उनले भने,‘समयको आवश्यकता अनुसार चल्न नसकेको कारण पनि समस्या सिर्जना भएको हो ।’ उनले हेटौँडा प्रदेशको राजधानी भएसंगै सवारी चाप बढेको तर ट्राफिक दरबन्दी नबढ्नुले समस्या पैदा भएको बताए ।

उद्योग वाणीज्य संघ मकवानपुरका उपाध्यक्ष माधव न्यौपानेले स्वागत गरेको कार्यक्रममा रेडियोका सन्चालक अंकिता सुमार्गी, अनिता सुवेदी सुमार्गी, हेटाडाका विभिन्न व्यवसायी, पेशाकर्मी लगायतको उपस्थिती थियो ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार (भोलि) दोश्रो दिन हेटौँडाको बुद्धचोकमा रक्तदान हुनेछ । रेडियोले स्थापना कालदेखि नै रक्तदान गर्दै आएको छ । त्यसैलाई निरन्तरता दिन बृहत रक्तदान हुने म्यानेजर गौतमले जानकारी दिए । फागुन ३ गते ‘नेपाल भ्रमण वर्ष सफल पारौ, सालक संरक्षणमा भूमिका खेलौं’ भन्ने नाराका साथ साइकल ¥याली, ४ गते पत्रकार तथा हेटौँडा भेट्रान्सबीच मैत्रीपूर्ण फुटबल, ५ गते सवारी दुर्घटना र उपचारको व्यवस्थापन विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता, ६ गते रुपचन्द्र विष्ट र उनको व्यक्तित्वबारे अन्तरकृया गर्ने तयारी गरिएको छ । वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन तथा ७ गते थाहा वर्ष सम्मान तथा वार्षिकोत्सव समापन कार्यक्रम हुने स्टेशन म्यानेजर गौतमले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*