नवराज लम्सालसहित ६ जना श्रष्टा मकवानपुरमा सम्मानित
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा आयोजित बकैया साहित्य महोत्सवमा विभिन्न श्रष्टा सम्मानित भएका छन् । शुक्रबारबाट सुरु दुई दिने साहित्य महोत्सवमा साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै डा. नवराज लम्साललाई होमनाथ-टीकामाया प्रतिभा सम्मान-२०७६ प्रदान गरिएको छ ।
यस्तै, विनोदविक्रम केसीलाई खडानन्द-मनमाया प्रतिभा सम्मान-२०७६, कवि विना थिङ तामाङलाई सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान-२०७६, साहित्यसेवी मुक्तिगोविन्द वैद्यलाई सञ्जीवनी बुटी साहित्य सेवा सम्मान-२०७६, बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान-२०७६ बाट व्यङ्ग्यकार रामचन्द्र आचार्य ‘फुर्सती’लाई प्रदान गरिएको छ ।
यस्तै, पत्रकारितामार्फत साहित्यमा पुर्याएको योगदानको कदर गर्दै झरना-बकैया पत्रकार सम्मान-२०७६ पत्रकार प्रताप विष्टलाई प्रदान गरिएको आयोजक झरना साहित्य परिवारका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले जानकारी दिए ।
महोत्सवमा स्रष्टा सम्मानका साथै साहित्यका विविध विषयमा बहस भएका थिए । महोत्सवमा आयोजित अन्तरक्रिया कार्यक्रमका दुईवटा सेसन अन्तरगत दुईवटा विषयमा छुट्टाछुट्टै बहसहरू भएका थिए । पहिलो चरणमा झरनाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेको सहजीकरणमा ‘कला साहित्यको विकासमा स्थानीय तहको भूमिका’ विषयमा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे र सामाजिक विकासका अभियन्ता अर्पण पराजुलीले बहस गरेका थिए ।
बहसमा सहभागीहरूले समाज विकासको लागि भौतिक विकास र चेतनाको विकास सँगसँगै अघि बढ्नुपर्ने कुरामा जोड दिएका थिए ।
अर्को चरणको अन्तरक्रियामा झरनाका सचिव मसान उपासकको सहजीकरणमा ‘नेपाली साहित्यमा मकवानपुर’ विषयमा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखील, समालोचक नीरा शर्मा र झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीले बहस गरेका थिए ।