घरधनीलाई नशालु पदार्थ खुवाएर लुटपाट गर्ने ४ जना पक्राउ

लोकखबर
२० फाल्गुन २०७६, मंगलवार १०:५८

मकवानपुर ।घरधनीलाई नशालु पदार्थ खुवाएर लुटपाट गर्ने एक समूहलाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ । गएको माघ २५, २६ र फागुन ८ गते गोरखाका विभिन्न ठाउँमा चोरीमा संलग्नलाई कावासोती नगरपालिका ३ को सङ्गम चोकबाट गोरखा प्रहरीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखाको बारपाक घर भइ चितवनको रत्ननगर नगरपालिका ४ बस्ने ४६ वर्षीय प्रकाश गुरुङ, उदयपुरको रानीबास गाउँपालिका २ का ५३ वर्षीय अमृत राना, बाराको निजगढ गाउँपालिका ७ का ३८ वर्षीय कृष्ण विक र सुनसरीको इटहरी नगरपालिका ४ का ४५ वर्षीय प्रदीप चौधरी रहेका छन् । गएको शुक्रबार पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय गोरखाले सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

चोरीमा संलग्न समूहले माघ २५ गते गोरखा नगरपालिका ५ नाङलेपानीकी भुवानी आचार्यको घरबाछ सुनको रिङ, तिलहरी, मोबाइल र नगद ४० हजार रुपैयाँ लुटेका थिए । यस्तै माघ २६ गते हरमटारीकी सन्तुमाया रम्तेलको रिङ, ढुङ्ग्री र १२ सय रुपैयाँ पनि त्यही समूहले चोरी गरेको प्रहरीले जनाएको छ । उनीहरुले गएको फागुन ८ गते शहीद लखन गाउँपालिका ८ नाम्जुङकी जमुना बरामको कानमा लगाउने रिङ दुई थान, तिलहरी दुई थान र सुनको टिका एक थान लुटेका थिए ।

उनीहरुले नशालु पदार्थ मिसाएको पेयपदार्थ खुवाएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेकालाई डाँका चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।उज्यालो अनलाईन डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*