कोरोना भाइरस : इटलीमा एकैदिन झण्डै ८ सयको ज्यान गयो, थप प्रतिबन्ध लागु

लोकखबर
९ चैत्र २०७६, आईतवार १०:१२

मकवानपुर । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण इटलीमा एकैदिन झण्डै आठ सय मानिसको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा थप सात सय ९३ जनाको ज्यान गएर इटलीमा ज्यान गुमाउनेको सङ्ख्या चार हजार आठ सय २५ पुगेको बीबीसीले जनाएको छ । यस्तै एकैदिन ६ हजार पाँच सय ५७ जना नयाँ बिरामी थपिएर इटलीमा सङ्क्रमितको सङ्ख्या ५३ हजार पाँच सय ७८ पुगेको छ ।

सङ्क्रमणका कारण अवस्था खराब बन्दै गएपछि इटलीले लोम्बार्डी लगायतका क्षेत्रमा थप प्रतिबन्धहरु लगाएको छ । अत्यावश्यक आपूर्ति बाहेक सबै व्यवसाय बन्द गराएको छ भने मानिसलाई घरबाहिर निस्कन पनि प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ ।

अस्पताल, सडक र रेलमा काम गर्ने बाहेक निर्माण लगायतका सबै काम रोकिएको छ भने खुला बजारहरु पूर्णरुपमा बन्द गरिएका छन् ।

यस्तै स्पेनमा शनिबार एकैदिन दुई सय ८५ जनाले ज्यान गुमाएर ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय ७८ पुगेको छ । इरानमा पनि एकैदिन एक सय २३ जनाले ज्यान गुमाएर ज्यान गुमाउनेको सङ्ख्या एक हजार पाँच सय ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा फ्रान्समा एक सय १२ जना, बेलायतमा ५६ र अमेरिकामा ६८ जनाले ज्यान गुमाएका छन् । विश्वका एक सय ८८ देश र एउटा पानी जहाजमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म झण्डै तीन लाख पाँच हजारमा सङ्क्रमण भएको छ ।

सङ्क्रमितमध्ये ९४ हजार सात सय ९३ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप एक हजार ६ सय १४ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको सङ्ख्या १३ हजार २५ पुगेको छ । उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*