कोरोनाका विषयमा विश्व स्वास्थ्य संगठनले दियो यस्तो चेतावनी

लोकखबर
११ चैत्र २०७६, मंगलवार १७:४९

मकवानपुर । विश्वव्यापी माहामारीको रुप लिदै गरेको कोरोना भाइरस (कोभिड १९ ) का सम्बन्धमा विश्व स्वास्थ्य संगठन(डब्लुएचए) ले चिन्ता व्यक्त गरेको छ ।

संगठनका प्रमुख टेड्रोस अघानोम गेब्रेयेससले कोभिड १९ ले अहिले विश्वमा भवावह अवस्था सिर्जना गरेको भन्दै तत्काल कदम चाल्न आवश्यक रहेको बताए ।

कोभिड–१९ को प्रकोप अहिले विश्वभर फैलिइरहेको छ र, पछिल्लो चार दिनमै १ लाखभन्दा धेरै संक्रमित थपिएकोमा डब्लूएचओ प्रमुखको चिन्ता छ । उनले यसलाई नियन्त्रणका लागि उपयुक्त उपाय थालनी नगरे स्थिती नियन्त्रण बाहिर जानसक्ने चेतावनी दिएका छन् ।
सन् २०१९ को डिसेम्बर अन्तिममा कोरोना भाइरस चीनमा देखा परेको थियो । त्यसयता संक्रमितको संख्या १ लाख पुग्न ६७ दिन लागेको थियो । तर त्यसको ११ दिनपछि नै संक्रमितको संख्या २ लाख नाघ्यो र त्यसपछि संक्रमितको संख्या तीन लाख पुग्न केवल ४ दिनमात्र लाग्यो ।
डब्लूएचओ प्रमुख ट्रेडोसले कोरोना भाइरसबाट बच्नुको विकल्प नरहेको बताएका छन् । साथै परीक्षण नगरिएको औषधि प्रयोग भने नगर्न चेतावनी दिएका छन् । यसले अर्को कुनै समस्या सिर्जना गर्नसक्ने विश्व स्वास्थ्य संगठनले बताएको छ ।
प्रत्येक आशंका गरिएका मानिसमा परीक्षण बढाउने, आइसोलेसनमा राख्ने, प्रत्येक पुष्टि भएका संक्रमितको राम्रो उपचार गर्ने र संक्रमितसँग निकट रहेका मानिसलाई क्वारेन्टाइनमा राख्ने जस्ता काम गर्नुपर्ने उनले बताए ।
इटालीमा सोमबार नयाँ संक्रमितको संख्या पाँचदिनयताकै कम देखिएको छ । तर स्पेनमा निरन्तर संक्रमण फैलिरहेको छ । सोमबार स्पेनमा ४ हजार ७८९ नयाँ संक्रमित फेला परेका थिए । यसअघि आइतबार ५ हजार ५६० मा संक्रमित भेटिएका थिए भने शनिबार पनि ६ हजार ५५७ मानिसमा यसको संक्रमण पाइएको थियो । सोमबार स्पेनमा ४६२ जनाले ज्यान गुमाएका थिए ।
बेलायतमा पनि सोमबार ५४ जनाको ज्यान गएको छ । यससँगै बेलायतमा मर्नेको संख्या ३३५ पुगेको छ ।
नेपालमा पनि कारोना त्रासका कारण आज (मंगलबार) बाट एक साताका लागि देशभर लक डाउन गरिएको छ । लक डाउनको प्रभाव मकवानपुर लगायत देशैभर परेको छ ।
कोरोना भाइरसको संक्रमणको कारण मंगलबारसम्म सोह्र हजार ५ सय ५८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंंसारभरि तीन लाख ८१ हजार ७६१ जना कोरोना भाइरस संत्रलमित भएका छन् । संक्रमित व्यक्तिहरुमा १ लाख २ हजार ४२९ जना उपचारपछि घर फर्किएका छन् । दुई लाख ६२ हजार ७७४ व्यक्ति हाल संक्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को संक्रमण हालसम्म १९२ भन्दा बढी देशमा देखा परीसकेको छ । चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *