कोरोना कहर :

चीनमा कोरोनाबारे सही भविष्यवाणी गर्ने नोबेल पुरस्कार विजेताको अर्को भविष्यवाणी

लोकखबर
१२ चैत्र २०७६, बुधबार ०७:०८

मकवानपुर । नोबेल पुरस्कार विजेता तथा स्ट्यान्फोर्ड विश्वविद्यालयका बायो–फिजिसिस्ट (जैविक विज्ञ) माइकल लेभिटले चीनमा कोरोना भाइरस मत्थर हुँदै जाने गरेको दाबी मिलेको थियो । अन्य स्वास्थ्य विशेषज्ञले यो माहामारी वर्षौसम्म रहने दाबी गरेपनि उनले भने चीनमा यो भाइरस विस्तारै मत्थर हुने प्रक्षेपण गरेका थिए । यतिबेला उनको प्रक्षेपण सही साबित हुदै गएको छ ।

जति बेला संसारका धेरै सरुवारोग विशेषज्ञले चीनको महामारी महिनौं वा वर्षौंसम्म रहने चेतावनी दिँदै दसौं लाख मान्छेको मृत्यु हुने अनुमान गरेका थिए, लेभिट त्यसमा सहमत थिएनन् । तथ्यांकबाट त्यो हदसम्मको मानव विनाश पुष्टि नहुने उनको भनाइ थियो । खासगरी सरकारले सामाजिक दुरी कायम राख्न ‘लक-डाउन’ को निर्देशन जारी गरेका क्षेत्रमा संक्रमण फैलिने क्रम कम हुँदै गएको उनको तर्क थियो ।

उनले अब कोरोना केही समयमै नियन्त्रणमा आउँने अर्को प्रक्षेपण गरेका छन् । चीनका सवालमा सही निश्कर्षण दिएका उनले कोभिड १९ चाँडै नियन्त्रणमा आउने बताएपछि त्रासमा रहेका नागरिकमा आशाको संचार भएको छ ।

यस्तो थियो लेभिटले चीनमा गरेको तथ्यांक विश्लेषण :
जनवरी ३१ को दिन चीनमा कोरोना भाइरस संक्रमणबाट ४६ जनाको मृत्यु भयो । यसको ठ्याक्कै अघिल्लो दिन मृत्यु हुनेको संख्या ४२ थियो ।
उनका अनुसार, दैनिक मृत्यु संख्या बढे पनि मर्नेहरूको वृद्दिर घट्दै गएको थियो । यति मात्र होइन, नयाँ बिरामी संख्या पनि पहिलेभन्दा कम अनुपातमा बढेको थियो । यो चीनमा महामारी अवस्था विस्तारै सहज हुँदै गएको पहिलो संकेत थियो ।

यसलाई लेभिटले कार रेसिङसँग दाँज्दै भनेका थिए, ‘महामारीलाई खुला राजमार्गमा कुदिरहेको रेसिङ कारसँग तुलना गरौं । कारले आफ्नो गति बढाइरहेकै छ, तर सुरूआतमा जुन रफ्तारले उसको गति बढेको थियो, अहिले त्यो रफ्तार कम भएको छ ।’
‘यसले के देखाउँछ भने, संक्रमणबाट मान्छे मर्ने क्रम आगामी एक सातापछि कम हुँदै जानेछ,’ लेभिटले फेब्रुअरी १ मा लेखेको यो रिपोर्ट चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

त्यसलगत्तै उनले चीनमा कोरोना भाइरसबाट हुने मृत्यु संख्या हरेक दिनजसो घट्दै जाने अनुमान गरे ।
तीन सातापछि लेभिटले ‘चाइना डेली न्यूज’ लाई अन्तर्वार्ता दिँदै भाइरस वृद्धिदर उच्चतम बिन्दुमा पुगेको बताए । चीनमा करिब ८०,००० व्यक्ति संक्रमित हुने र ३,२५० जनाको मृत्यु हुने उनको प्रक्षेपण थियो ।
उनको भविष्यवाणी धेरै हदसम्म सही सावित भयो । मार्च १६ सम्म चीनमा संक्रमित संख्या ८०,२९८ पुग्यो भने ३,२४५ जनाको ज्यान गयो । झन्डै १ अर्ब ४० करोड जनसंख्या भएको यो मुलुकमा हरेक वर्ष करिब १ करोडको मृत्यु हुन्छ ।
कोरोना भाइरस पुष्टि भएका नयाँ बिरामी संख्या पनि प्रतिदिन करिब २५ मा झर्यो । गएको बुधबारयता पहिलेजस्तो सामुदायिक स्तरमा भाइरस फैलिएको पाइएको छैन ।
सन् २०१३ मा रसायनशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका लेभिट अब अमेरिका र अन्य मुलुकका लागि यस्तै ‘टर्निङ प्वाइन्ट’ को आँकलन गर्दैछन् ।
उनले दैनिक ५० भन्दा बढी नयाँ बिरामी भइरहेका ७८ वटा मुलुकको तथ्यांक विश्लेषण गरेका छन् । त्यसमध्ये धेरैमा ‘सुधारको संकेत’ देखिएको उनको भनाइ छ । उनी आफ्नो विश्लेषणमा कुल बिरामी संख्या हेर्दैनन् । दैनिक कति जना नयाँ व्यक्तिमा यो भाइरस देखियो भन्ने तथ्यांक मात्र हिसाब गर्छन् । र, हरेक दिनको तथ्यांकलाई अघिल्लो दिनसँग तुलना गरेर नयाँ बिरामी बढ्ने क्रम केलाउँछन् ।
‘संख्यात्मक रूपले हेर्दा अवस्था चिन्ताजनक नै छ, तर विस्तारै सुधार हुँदै गएको संकेत पनि देखिँदैछ,’ उनले भने ।
उदाहरणका लागि, दक्षिण कोरियामा कुल बिरामी संख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ, तर हरेक दिनको छुट्टाछुट्टै तथ्यांक हेर्ने हो भने नयाँ बिरामी संख्या अघिल्लो साताको दाँजोमा घटेको छ । अहिले यो दुई सयभन्दा कम छ । यसले महामारीको ताप विस्तारै मत्थर हुँदै जाने संकेत देखाउँछ ।
इरानमा पुष्टि भएका नयाँ बिरामीको दैनिक संख्या गत साताभरि लगभग समानान्तर रह्यो । गत आइतबार १,०२८ जना नयाँ बिरामी भेटिएकामा सोमबार यो संख्या १,०५३ थियो । यो पक्कै पनि कम संख्या होइन, लेभिटले भने, ‘तर यसले भाइरस संक्रमण मध्यम विन्दुमा पुगेको देखाउँछ ।’
इटालीमा भने अहिले पनि बढ्दो क्रममै छ । त्यहाँ गत साताभरि हरेक दिन नयाँ बिरामी संख्या वृद्धि भइरह्यो ।
प्रारम्भिक चरणको महामारी नियन्त्रण गर्न सफल केही ठाउँमा संक्रमण फेरि फर्किन सक्ने अधिकारीहरूको भनाइ छ । चीन आफूकहाँ महामारी थामिए पनि ढुक्क छैन । अहिले तीव्र गतिले फैलिरहेका ठाउँबाट फेरि आफूकहाँ संक्रमण भित्रिन सक्नेमा ऊ सतर्क छ । उसको सम्पूर्ण प्रयास दोस्रो चरणको संक्रमण नियन्त्रण गर्नमा केन्द्रित छ । अन्य देश पनि यही चुनौतीसँग जुधिरहेका छन् ।
लेभिट आफ्नो प्रक्षेपण एकदमै कम तथ्यांकमा आधारित रहेको स्वीकार्छन् । कतिपय देशमा व्यापक रूपले परीक्षण हुन सकेको छैन । यसले नयाँ बिरामीमा संक्रमण देखिने क्रम स्वाभाविक रूपले थोरै छ । यस्तो तथ्यांक अपूर्ण भए पनि ‘जुन ठाउँमा हरेक दिन लगातार बिरामी संख्या घट्दै गएको छ, त्यहाँ केही न केही आँकलन गर्न सकिने’ उनी बताउँछन् ।
अर्को शब्दमा भन्दा, तथ्यांक अपूर्ण भए पनि त्यसै आधारमा हरेक दिनको बिरामी संख्या दाँजेर सामान्य निष्कर्ष निकाल्न सकिन्छ ।
कोरोना भाइरसका कारण हुने मृत्युको तथ्यांकले लेभिटको प्रक्षेपणलाई केही बल भने दिन्छ, उनी भन्छन्, ‘मृत्यु र नयाँ बिरामी हुने क्रम धेरै हदसम्म मिल्दोजुल्दो छ ।’
डायमन्ड प्रिन्सेस क्रुज जहाजको उदाहरण लिउँ, जसमा ३,७११ मान्छे थिए । तीमध्ये ७१२ जनामा संक्रमण देखियो, आठ जनाको मृत्यु भयो ।
‘यो तथ्यांकबाट संक्रमित व्यक्तिहरू रहेको कुनै निश्चित ठाउँमा महामारी फैलिने अवस्था कस्तो छ भनी केलाउन सकिन्छ,’ लेभिटले भने ।
डायमन्ड प्रिन्सेस जहाजको तथ्यांकबाट उनले के अनुमान लगाएका थिए भने, नयाँ व्यक्तिमा संक्रमणको जोखिम आगामी दुई महिनामा दोब्बर हुनसक्छ । दुई महिना अवधिसम्म धेरै मान्छेमा मृत्युको जोखिम अत्यन्तै कम हुन्छ । यसको मतलब, संख्या दोब्बर भए पनि मृत्यु जोखिम अत्यन्तै कम हुने लेभिटको अनुमान हो ।
‘लेभिटको यो प्रक्षेपण सही छ कि छैन भनी समयले देखाउनेछ,’ म्यासाचुसेट्स विश्वविद्यालयका जैविक तथ्यांकशास्त्री निकोलस रिचले भने, ‘मेरो विचारमा बढीभन्दा बढी विज्ञले आ–आफ्ना अवधारणा अगाडी ल्याए नीति निर्मातालाई आगामी साता वा महिनाहरूमा कस्तो कदम चाल्ने भनी निर्णय लिन सजिलो हुनेछ ।’
लेभिट कोरोना संक्रमण नियन्त्रण गर्न सामाजिक दुरीलाई अपरिहार्य मान्छन् । खासगरी ठूल्ठूला जमघट निषेध गर्नु अनिवार्य भएको उनको भनाइ छ ।
‘धेरै मान्छेमा यो नयाँ भाइरससँग जुध्ने प्रतिरोधात्मक शक्ति छैन । कोरोनाविरुद्दको खोप पनि महिनौं टाढा छ,’ उनले भने, ‘त्यसैले यो साथीहरूसँग बाहिर जमघट गर्ने सही समय होइन ।’

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*