कृषि विकासका लागि मकवानपुरगढी गाउँपालिकाको लियो पहलकदमी

लोकखबर
२३ बैशाख २०७७, मंगलवार १५:२१

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले गाउँपालिकालाई कृषि क्षेत्रमा विकासका लागि पहलकदमी लिएको छ । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंका अनुसार गाउँपालिकामा कृषि उत्पादन बढाउनका लागि जमीन बाँझो नराख्न तथा आवश्यक अनुदान उपलब्ध गराउँनका लागि आवश्यक निर्णय लिइएको छ ।
गाउँपालिकाले सूचना प्रकाशन गर्दै बाँझो जमिनमा खेती तथा पशुपालन गर्नेलाई अनुदान दिने निर्णय गरिएको जनाइएको छ । कोरोना भाइरसको जोखिमबाट बच्न तथा लकडाउनका कारण गाउँपालिकामा आएका वा आउन चाहनेलाई खेती तथा पशुपालनमा प्रेरित गर्न गाउँपालिकाले भु–उपयोग कार्यविधि २०७७ (संशोधन सहित) कार्यान्वयनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।
अध्यक्ष हुमागाईंका अनुसार विदेशबाट फर्किएका वा जाने तयारीमा रहेका विपन्न समुदायका एकसय जना युवालाई तालिमसहित कृषि र पशुपालनका लागि प्रोत्साहन गर्न बीउ पुँजी सहयोग गर्ने गाउँपालिकाको योजना छ । गाउँपालिकाले बाँझो जग्गामा फलफुल खेती गरे प्रतिरोपनी दुई हजार रुपैयाँ, अन्नबाली, तरकारीबाली तथा नगदेबाली गरे प्रतिरोपनी दुई हजार पाँच सय रुपैयाँ, लकडाउनका बेला गाउँपालिकाले उपलब्ध गराएको राहत प्राप्त गर्ने परिवारले आफ्नै स्वामित्वको जमिन वा लिजमा लिएको जमिनमा अन्नबाली, तरकारीबाली, फलफुल तथा मसलाजन्य खेती गरे प्रतिरोपनी तीन हजार रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराउने अध्यक्ष हुमागाईंले जानकारी दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीका अनुसार बाँझो रहेको आफ्नै वा लिजमा लिएको जग्गामा ३० वटा बाख्रा वा ५ वटा गाई, भैंसी वा १० वटा बंगुर पाल्ने गरी खोर वा गोठ निर्माण गर्न एक लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने, माछा पालन गर्न पोखरी बनाउन प्रतिरोपनी १५ हजार रुपैयाँ, मौरी पालन गर्ने किसानलाई प्रतिघार पाँच हजार रुपैयाँसम्म अनुदान वितरण गरिने तयारी गरिएको छ ।
यस्तै, अनुदान कार्यक्रममा सहभागी नभई खेतीयोग्य जमिन बाँझो राखेमा गाउँपालिकाले भूमिकरमा वृद्धि गर्ने, जमिन बाँझो राख्ने व्यक्तिलाई गाउँपालिकाले प्रदान गर्ने सेवाबाट समेत बञ्चित गराउन सकिने सूचनामा जनाइएको छ । बाँझो राखिएको जमिन गाउँपालिकाले मोहीलाई कमाउन दिने, खेतीयोग्य जमिनमा खेती गर्न नसके गाउँपालिकाको भूमि बैंकमा जम्मा गर्नु पर्ने पनि निर्णय गाउँपालिकाले लिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*