नेता बानियाको उद्घोष-‘परेवाभिरमा व्यक्तिगत लगानीमा बाटो बनाउँछु ।’

मकवानपुर । पश्चिम मकवानपुरको आवतजावत गर्ने मुख्य मार्गमा पर्ने राक्सिराङ गाउँपालिका-५ स्थित परेवाभिरमा सरकारले बाटो नबनाए आफ्नै व्यक्तिगत खर्चमा बनाउँने कांग्रेस नेता इन्द्रबहादुर बानियाले उद्घोष गरेका छन् ।
मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले परेवाभिरमा सडक बनाउन नसक्ने बताएपछि वाग्मती प्रदेशमा दुई तिहाइभन्दा धेरै मतका साथ सरकार सञ्चालन गरिरहेको कम्युनिष्टहरुलाई चुनौतीका साथ प्रदेश सरकारका प्रमुख प्रतिपक्षी दलका नेता, काँग्रेस मकवानपुरका सभापति बानियाँले यस्तो उद्घोष गरेका हुन् ।
पश्चिम मकवानपुरका नेकपाका कार्यकर्ता तथा शुभेच्छुकलाई चिढ्याउने गरी मुख्यमन्त्री पौडेलले अभिव्यक्ति दिएपनि यतिबेला मुख्यमन्त्री पार्टीभित्र आलोचित बनिरहेका छन् । मुख्यमन्त्री विरुद्द सामाजिक सञ्जालमा टिप्पणी भइरहेको देखिन्छ । यही बेला सडक कांग्रेस नेता राजकुमार मल्लले नेतृत्व गरिरहेको राक्सिराङ गाउँपालिकाले दुई करोड रुपिया बजेट विनियोजन गरेर आफ्नै गाउँमा सडक निर्माणका लागि आफैं लागिपर्ने बताएका छन् । बुधबार कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा आयोजना गरेर बानियाँले प्रदेश सरकारलाई नै चुनौती दिँदै सरकारले नबनाएमा आफूले निर्माण गर्ने बताए ।
बानियाले परेवाभिरको विकल्प नरहेको बताउँदै गाउँपालिकाले डीपीआर बनाइसकेको अवस्था टेण्डर प्रक्रिया अगाडि बढाउन आग्रह गरे । राक्सिराङ गाउँपालिकाका जनताको जीवनस्तर उकास्नका लागि पनि परेवाभीरबाट सडक बनाउनुपर्ने नेता बानियाको भनाई छ ।