छात्रवासका विद्यार्थीलाई खाद्य सामग्री प्रदान
विदुर–नुवाकोटको विदुरस्थित एक छात्रवासमा रहेका विद्यार्थीहरुलाई खाद्य सामग्रीहरु प्रदान गरिएको छ । यसवाट आश्रित विद्यार्थीहरुलाई सुविधा पुगेको छ ।
राष्ट्रिय युवा सङ्घ नेपाल नुवाकोट र अखिल अनेरास्ववियु नुवाकोटले विदुर नखपा २ विदुरस्थित जनजाती कल्याण आश्रम (आमाको माया छात्रवास)मा रहेका बालकहरुलाई पौष्टिक आहारका साथै फलफुल वितरण गरेको हो । युवा तथा विद्यार्थी स्थापना दिवसको अवसरमा युवा सङ्घ र अनेरास्ववियुले संयुक्तरुपमा सो छात्रवासमा आश्रित २० जना बालकहरुलाई खाद्य सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
विद्यार्थी देशको भविष्यका कर्णाधार भएको र नयाँ जोशले भरिएको बालबालिकालाई सहयोग गरि स्थापना दिवस मनाइएको युवा संघ नुवाकोटले जनाएको छ । युवा तथा विद्यार्थी दिवसले सम्पूर्ण युवा विद्यार्थीलाई एकजुट भई विभिन्न लक्ष्य प्राप्त गर्न प्रेरणा प्रदान गरेकोसमेत युवा संघ नुवाकोटका अध्यक्ष प्रज्वल सापकोटाले बताए ।
युवा विद्यार्थी एकताको अद्वितीय शक्तिले आन्दोलनमा ऐतिहासिक विजय हासिल गरेको दिनको सम्झनामा हरेक वर्ष जेठ १ गतेलाई विद्यार्थी दिवस (एकता र विजय दिवस) को रूपमा मनाइँदै आएको सापकोटाको भनाई छ । युवा तथा विद्यार्थीहरूको सक्रिय सहभागिता बिना कुनै पनि प्रगति हासिल गर्न नसकिने भएकाले एकताबद्ध युवा विद्यार्थी आन्दोलनको महत्व उत्तिकै रहेको उनले बताए ।











































