वेलकोटगढी नपाको वजेट वढ्यो
विदुर–नुवाकोटको बेलकोटगढी नगरपालिकासहित अधिकांश स्थानीय तहले मंगलवार आआफ्नो वजेट सभा गरेका छन् । अधिकांशले शिक्षा, स्वास्थ्य, कृषि, आधुनिक उपकरण, पर्यटन, धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण र सम्वद्र्धनको निर्णय गरेका छन् ।
नुवाकोटको आठ वर्ष पुरानो बेलकोटगढी नपाको दोस्रो नगर सभा मेयर जगतवहादुर गुरुङद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम र उपमेयर शिवप्रसाद दाहालद्वारा प्रस्तुत वार्षिक वजेट पारित गर्दै मंगलवार वाघखोरमा सम्पन्न भएको छ ।

दोश्रो वजेट अधिबेशनबाट आगामी आब २०८२/०८३ को नीति कार्यक्रम तथा बिनियोजन बिधेयकसहितको नगर सभा सहमतिको साथ सम्पन्न भएको छ ।सो नपाको वजेट सभाले आगामी आवका कुल ९७ करोड ६३ लाख १५ हजार दुई सय ९८ रुपैयाको वजेट पारित गरेको छ ।
सो वजेट गत वर्षको भन्दा पांच करोड रुपैयाको धेरै वजेट हो । बजेटमा कृषि, पर्यटन र पूर्वाधार विकासमा विशेष जोड दिइएको छ ।

विशेष रुपमा चिम्टेश्वर क्षेत्रको धार्मिक तथा पर्यटकीय सम्भावनालाई दृष्टिगत गर्दै ‘चिम्टेश्वर विकास ऐन’ ल्याउने र चिम्टेश्वर विकास समितिलाई वैधानिकता दिने व्यवस्था गरिएको छ । स्वास्थ्य सेवा विस्तारको उद्देश्यले वडा नं. ८ र १२ मा प्रसूति सेवा सहितको बर्थिङ सेन्टर स्थापना, बालमैत्री विद्यालय कार्यक्रम, किसानमैत्री कृषि कार्यक्रम, र क्द्यद्यक् चिकित्सक सेवा विस्तारजस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

सभाले उत्कृष्ट विद्यालय, उत्कृष्ट विद्यार्थी र उत्कृष्ट खेलाडिहरुलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको मेयर जगतवहादुर गुरुङको भनाई छ । सो नपामा वालमैत्री विद्यालय घोषणाको तयारी, कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिइएको उनको भनाई छ ।

नगर सभामा वेलकोटगढीका उपमेयर शिवप्रसाद दाहाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक थिङ, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सदस्यहरु, विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरु, विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधिलगायतले स्थानीय माग र आवस्यकता अनुसारका योजना सन्चालन गर्नु पर्नेमा जोड दिए । अधिवेसनले स्थानयि श्रोत र साधनको संरक्षण र सम्वद्र्धन गर्नेसमेत जनाएको छ ।

यससंगै नुवाकोटको तारकेश्वर, तादी, दुप्चेश्वर, म्यागङ, सुर्यगढी, शिवपुरी, लिखु, किस्पाङसहित अधिकांश स्थानीय तहले आगामी आवका लागि वजेट पारित गरेका छन् । अधिकांशले स्थानीय क्षेत्रको विकास, प्रवद्र्धन, खेल, धार्मिक तथा पर्यटनमा जोड दिएका छन् ।

तारकेश्वर गाउँपालिकाको १२औँ वजेट सभा दाङसिङमा सम्पन्न भएको छ । सो गापाको वार्षिक नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित भएको छ ।
तारकेश्वर गाउँपालिकाको १२औँ गाउँसभा भव्य रुपमा सम्पन्न भएको छ । सभामा गापा अध्यक्ष शिव अधिकारी ‘अविरल’ले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा पारित भएको छ ।

गापा उपाध्यक्ष हरिप्रसाद रिमालले आगामी आर्थिक वर्ष २०८२/०८३ को आर्थिक विनियोजन विधेयक (बजेट) प्रस्तुत गरेका हुन् । सभाले नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित गरेको हो ।

अध्यक्ष अधिकारीले तारकेश्वरको समृद्धि र विकासको अभियानमा सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै १२औँ गाउँसभामार्फत एकता प्रदर्शन भएकोमा आभार व्यक्त गरे । सर्वसम्मतिका लागि सबै राजनीतिक दलहरुप्रति उनले सहमतिसहित विकास कार्य गरिने पतिवद्धता जनाए । 
उता, नुवाकोटकै पञ्चकन्या गापाको सभाले आगामी वर्षका लागि प्रस्तुत ४३ करोड ७३ लाख ६७ हजार रुपैयाको वजेट पारित गरेको छ । समृद्ध पञ्चकन्या निर्माण गर्ने उद्धेश्यकासाथ पञ्चकन्या गापाको १८ औं गाउँसभा सम्पन्न भएको हो ।

गाउँसभामा अध्यक्ष तेजबहादुर तामाङ रमेशले पेश गरेको वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष विमला पाठककेसीले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०८२/०८३को आर्थिक विधेयक, विनियोजन विधेयक र बजेट सर्वसम्वत रुपमा पारित भएको छ । यसका साथै गाउँसभामा न्यायिक समितिको प्रतिवेदनका र कार्यपालिकाकाबाट भएका निर्णयहरुको अनुमोदन समेत भएको छ ।

गाउँसभामा उपाध्यक्ष केसीले कुल ४३ करोड ७३ लाख ६७ हजार रुपैयाको बजेट प्रस्तुत गरेकोमा पारित भएको छ । उक्त बजेट विनियोजन(१) को ऐनद्वारा सञ्चित कोषबाट खर्च खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८२/०८३ को लागि गाउँपालिकाको वडा समिति, विषयगत समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यको निमित्त विनियोजन गरिने जनाएको छ ।
यसअघि वार्षिक कार्यक्रम पेश गर्दै अध्यक्ष तामाङले पेश गरेको नीति तथा कार्यक्रम अनुसार सो गापामा २४ पक्की ९३ किलोमिटर गभेल सडक र १ सय ९४ किलोमिटर ग्रामीण सडक रहेका छन् । गाउँपालिकाका सबै वडामा सडक पुगेको, गाउँपालिकादेखि प्रमु्ख राजमार्गमा सडक सञ्जाल पुगेको छ ।

५ ओटा पक्की भवन, ३ ओटा सम्पन्नका साथै ७ ओटा भवन आंशिक रुपमा निर्माण सम्पन्न भएको पनि उल्लेख गरिएको छ । यस्तै चालु आवमा एउटा झोलुड्गे पुल निर्माण भएको र हाल गाउँपालिकामा २१ झोलुड्गे पुल सञ्चालनमा रहेको पनि उल्लेख गरिएको छ ।
किस्पाङ गाउँपालिका गाउँ सभाको १६ अधिवेशन बैठक काहुलेमा सम्पन्न भएको छ ।

गापा अध्यक्ष वीरवल तामाङद्वारा प्रस्तुत आगामी आव २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेद्वारा प्रस्तुत वार्षिक बजेट पारित भएको छ ।

सो गापाको सभाले कुल ४३ करोड ८४ लाख ९७ हजार रुपैयाको वार्षिक बजेट विनियोजन गरेको छ । किसान, गृहिणी, स्वास्थ्य, शिक्षा र विकासमा प्राथमिकता दिइएको छ ।

यस्तै, तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङको सभाध्यक्षमा सम्पन्न तादी गापाको १७ औं अधिवेशनको दोस्रो बैठकमा वार्षिक नीति तथा कार्यक्रम र वजेट पारित गरेको छ । तादी गापाकी उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक सन्जु प्याकुरेलश्रेष्ठबाट प्रस्तुत आगामी आवको वार्षिक वजेट सभाले पारित गरेको छ ।

तादी गापाको बजेट तथा कार्यक्रम,े आर्थिक विद्येयक २०८२, तादी गापाको विनियोजन विधेयक २०८२ र्सवसम्मति रुपमा पारित भएको हो । तादलिे पनि पर्यटन, पुर्वाधार र विकासमा जोड दिएको छ ।

यता, लिखु गाउँपालिकाको बजेट ४९ करोड ३६ लाख रुपैया पारित भएको छ । लिखु गापाले आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।

गापामा आयोजित १७ औं गाउँसभामा गाउँपालिकाका अध्यक्ष धु्रर्व श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष सुभद्रा अधिकारीले बजेट पेश गरेकोमा पारित भएको छ । उपाध्यक्ष अधिकारीले पेश गरेको चालू खर्च, पूजीगत खर्च र वित्तिय व्यवस्थापनको रकम समेत गरि जम्मा कुल ४९ करोड ३६ लाख ६२ हजारको बजेट रहेको छ ।

उक्त बजेट विनियोजन(१) को ऐनद्धारा सञ्चित कोषबाट खर्च खर्च गर्न अधिकार दिइएको रकम आगामी आवको लागि गाउँपालिकाको वडा समिति, विषयगत समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यको निमित्त विनियोजन गरिने छ ।

गाउँसभामा अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा उपाध्यक्ष शुभद्रा अधिकारीमार्फत पेश गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट वक्तब्य, बिनियोजन बिधेयक २०८२, न्यायिक समितिको वार्षिक प्रतिवेदन र राजस्व परामर्श समितिका संयोजक नरहरि पाण्डेबाट पेश गरिएको आर्थिक बिधेयक, लिखु गाँउपालिका-३ स्थित सिमलचउरमा ‘मल्टी कोल्ड’ स्थापना र लिखु गापाको केन्द्र परिवर्तन गरेर लिखु ४ गड्खारमा स्थानान्तरण गर्ने विशेष प्रस्ताव गाउँसभामा पेश भएको छ ।

गाउँपालिकाले नीति तथा कार्यक्रममा कृषि, भौतिक पूर्वाधार, स्वास्थ्यलगायतका क्षेत्रका लागि बजेट विनियोजन गरेको छ । यस्तै गाउँपालिकाको भवन निर्माणका लागि पनि बजेट विनियोजन गरिएको छ ।

उता, शिवपुरीको बजेट ६० करोड ४८ लाख ८६ हजार ३ सय ३३ रुपैयाँ पारित भएको छ । शिवपुरी गापालाई सूचना प्रविधिमैत्री बनाईने पनि निर्णय भएको छ ।

शिवपुरी गापाको गाउँ सभाको शेरावगरमा सम्पन्न १६ औं अधिवेशनमा गापा अध्यक्ष गोविन्दप्रसाद थपलियाले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष वीरवहादुर तामाङले प्रस्तुत गरेको वजेट पारित गरेको छ । वजेट सभामा उपाध्यक्ष तामाङले आगामी आवको लागि कुल बजेट ६० करोड ४८ लाख ८६ हजार तीन सय ३३ रुपैयाँको वजेट सर्वसम्मतले पारित भई १६ औ अधिवेशन सम्पन्न भएको छ ।

यता, म्यागङ गापा अध्यक्ष आशावहादुर तामाङद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष सीता वाइवाद्वारा प्रस्तुत वजेट पारित भएको छ ।

सो गापामा आगामी आवका लागि कुल ४४ करोड ४६ लाख ११ हजार ३३ रुपैयाको वजेट पारित भएको छ ।


उता, दुप्चेश्वर गापाको वार्षिक नीति तथा कार्यक्रमसमेत पारित भएको छ ।

गापा अध्यक्ष शंकरबहादुर थापाबाट प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष माकुरी तामाङवाट प्रस्तुत वजेट सर्वसम्मत रुपमा पारित भएको छ ।












































