प्रसुती अस्पताल निर्माण तयारी
बिदुर– ग्रामीणवासीको सेवाका लागि नुवाकोटको उत्ररी भेगमा प्रसुती अस्तालको निर्माण तयारी सुरु भएको छ । जसका लागि भौतिक संरचना वयवस्थापन कार्य सुरु भएको छ ।
दुप्चेश्वर गाउँपालिका–६, करेजुङमा प्रसूति अस्पताल निर्माणका लागि आवस्यक संरचना वनाउने कार्य सुरु भएको हो । जसअन्र्तगत पहिलो चरणमा जग्गा मिलाउने कार्य औपचारिक रूपमा सुरु भएको छ ।

सो अस्पताल आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यसले स्थानीय आमाबुबा र नवजात शिशुहरूको स्वास्थ्य सेवा सहज बनाउने अपेक्षा गरिएको छ ।
विदुरदेखि ४० किलोमिटर उत्तरमा रहेको दुप्चेश्वर गाउँपालिका–६ करेजुङमा प्रसूति अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापनको काम सन्चालन भएको हो । पाँच कोठे प्रसूति अस्पतालको तयारी अघि बढेपछि स्थानीयवासी उत्साहित भएका छन् ।

करिब ५ सय घरधुरी रहेको सो स्थानमा करिब ३ हजार स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित हुने जनाइएको छ । स्वास्थ्य पूर्वाधारको पहुँच वृद्धिका लागि दुप्चेश्वरमा प्रसूति सेवा उपलब्ध हुने भएपछि विशेषगरी महिलाहरूले राहतको रूपमा लिएको साझेदार रडेक नेपालका अध्यक्ष मीनकुमार केसीले वताए ।
गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग र रुडेक नेपालको प्राविधिक सहकार्यमा बन्ने उक्त अस्पताल दुप्चेश्वर क्षेत्रको मातृ–शिशु स्वास्थ्य सेवामा महत्वपूर्ण फड्को हुने अपेक्षा गरिएको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ । स्थानीयहरूले समयमै अस्पताल निर्माण सम्पन्न भई सेवा सञ्चालन हुने आशा व्यक्त गरेका छन् ।













































