अमेरिकी डलरसहित युवक पक्राउ
बिदुर – नुवाकोटसंगै जोडिएको रसुवावाट ठुलो मात्रामा अमेरिकी डलरसहित एक युवक पक्राउ परेका छन् । युवकलाई राजश्व अनुसनधान विभाग पठाइएको छ ।
सार्वजनिक यातायात वसमार्फत काठमाडौंबाट नुवाकोट हुदै रसुवाको टिमुरेतर्फ जाँदै गरेका एक युवकलाई प्रहरीले ४३ हजार अमेरिकी डलर बरामदसहित पक्राउ गरेको हो ।

पासाङल्हामु सडकखण्डमा रहेको वेत्रावति–कालिकास्थान–धुन्चे सडकखण्डको वीचमा रहेको उत्तरगया गाउँपालिका–५ स्थित बेत्रावती बजारमा चेकजाँचका क्रममा अमेरिकी डलर भेटिएपछि धादिङको गंगाजमुना गाउँपालिका–५ घर भएका ३७ वर्षीय सुशील गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहले जानकारी दिएका छन् । उनका अनुसार बा.प्र.०१–००६ख९५१५ नम्बरको यात्रुवाहक बसमार्फत टिमुरेतर्फ जाँदै थिए ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बस रोकेर खानतलासी गर्दा गुरुङको साथबाट अमेरिकी डलर एकसयको तीनसय ६३ थान, ५० को एकसय १२ थान, २० को २९ थान, १० को ५० थान, पांचको तीन थान र एकको पांच थान बरामद गरिएको प्रहरीले जनाएको छ । डलरसहित पक्राउ परेका युवक गुरुङलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललीतपुर पठाइएको प्रहरीले जनाएको छ ।











































