नुवाकोटका अधिकांश स्थानमा वर्षात्
बिदुर – सदरमुकाम बिदुरसहित नुवाकोटका अधिकांश स्थानमा वर्षात भएको छ । मौसम बदलीसँगै चिसो बढ्को छ । बंगालको खाडीबाट उत्पन्न भएको शक्तिशाली चक्रवात अर्नबको प्रभावका कारण नुवाकोटको विभिन्न स्थानमा शुक्रवार अपरान्हदेखि पानी परिरहेको छ । वेमौसमी वर्षातले तरकारी वालीलाई फाइदा पुगेको छ भने धान वालीलाई असर गरेको छ । वर्षातले मौसम चिसो भएको छ । नुवाकोटका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन नुवाकोट प्रशासनले आम सर्वसाधारणमा सचेत गराएको छ ।

नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा र यात्रुहरू सचेत रहन जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचित गरेको छ । बंगालको खाडीबाट उत्पन्न भएको शक्तिशाली चक्रवात अर्नबको प्रभावका कारण प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय नुवाकोटले विशेष सूचना जारी गरी सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता र पूर्वतयारीमा जोड दिइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको भनाई छ । प्रशासन कार्यालयले जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी सूचनालाई आधार मान्दै कार्तिक १४ गते शनिबारसम्म सतर्कता अपनाउन आग्रह गर्दै नुवाकोटबासीलाई सावधानी अपनाउन आग्रह गरेको हो ।

वर्षा र हिमपातको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गर्दै किसानलाई धानबाली नकाट्न तथा काटिसकेको भए सुरक्षित स्थानमा राख्न सुझाव दिएको छ । त्यस्तै, जोखिमग्रस्त घरपरिवारलाई सुरक्षित स्थानमा सार्न स्थानीय तहलाई सहयोग गर्न आग्रह गरिएको छ । नदी तटिय क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन भनिएको छ । बाढीको जोखिम देखिएमा खोला किनारमा नजान तथा अचानक बाढी आउन सक्ने खोला र खहरेको बाटो हुँदै यात्रा नगर्न प्रशासनको आग्रह छ ।सम्भावित विपद्लाई ध्यानमा राख्दै जिल्लास्थित स्थानीय तह, विभिन्न सुरक्षा निकाय, नेपाल रेडक्रसलगायतका सरोकारवाला निकाय तथा स्वयंसेवकलाई पूर्वतयारी अवस्थामा रहन समेत आग्रह गरिएको छ ।

वर्षा र हिमपातबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गर्दै कृषि विकास कार्यालय नुवाकोटले धानबाली काट्ने तथा भित्राउने समयमा विशेष सावधानी अपनाउन किसानलाई आग्रह गरेको छ । मौसममा प्रतिकूलता आएको र विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा भइरहेकाले धानबालीमा क्षति हुन नदिन कार्यालयले किसानलाई सचेत गराएको हो । कार्यालयका अनुसार यही कार्तिक १५ गतेसम्म मौसममा प्रतिकूलता आउन सक्ने सम्भावना रहेकाले धान काट्ने र भित्र्याउने काम गर्दा विशेष ध्यान दिन आवश्यक छ ।

धान काट्न बाँकी रहेको अवस्थामा मौसममा सुधार आएपछि मात्र काट्ने समय मिलाउन कार्यालयले अनुरोध गरेको छ । त्यस्तै, धान नपाकेको खेतमा कुलो तथा नाली काटेर पानीको निकास तत्काल गर्न पनि किसानलाई सुझाव दिइएको छ । हावाहुरी वा पानीका कारण धानको बोट ढलेको अवस्थामा बाला पानीमा डुब्न नदिन विशेष ध्यान दिनुपर्ने कार्यालयले जनाएको छ ।

धानका बाला पानीमा डुब्न नदिन मुट्ठो पारेर उठाउने, अड्याउने वा सम्भव भएसम्म अर्को सुरक्षित ठाउँमा राख्ने प्रयास गर्न पनि किसानलाई आग्रह गरिएको छ । धानबाली किसानको मुख्य आम्दानीको स्रोत भएकाले मौसमको अवस्थालाई ध्यानमा राखेर बाली काट्ने, सुकाउने र सुरक्षित रूपमा भित्राउने व्यवस्था मिलाउन आवश्यक रहेको कार्यालयको भनाई छ । समयमै सावधानी अपनाउन सके वर्षाका कारण हुन सक्ने क्षति कम गर्न सकिने भएकाले कृषि विकास कार्यालय नुवाकोटले सबै कृषकलाई विशेष अनुरोध गरेको हो ।












































