कांग्रेस देउवा पक्षको जिल्ला अधिवेसन स्थगित

– महाधिवेसन प्रतिनिधि चयन
लोकखवर राजनीतिक व्युरो
२०८३ कार्तिक १४, शुक्रबार २२:२०

बिदुर – नेपाली कांग्रेसको नियमित महाधिवेसन पक्षधर अर्थात देउवा पक्षको नुवाकोटमा जिल्ला अधिवेसन स्थगित भएको छ । सो पक्षको पालिका तथा क्षेत्रिय अधिवेसन भइरहेका छन् । नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरले नुवाकोटको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । जिल्ला कार्यसमितिले जिल्ला अधिवेसनको दुई दिन अगाडि सूचना जारी गरेर अधिवेसन स्थगित गरेको हो ।

यसअघि यहि कात्तिक १५ गते आइतवार बिदुरमा जिल्ला अधिवेशन गर्ने गरी तय गरेको थियो । केही पालिकाहरूको अधिवेशन विभिन्न कारणले सम्पन्न हुन बाँकी रहेकाले पूर्वनिर्धारित मितिमा जिल्ला अधिवेशन सम्पन्न गर्न सम्भव नभएकाले अधिवेशन स्थगित गरिएको जिल्ला कार्यसमितिले जनाएको छ । सो दलका जिल्ला संयोजक श्रीराम श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्मका लागि यहि कात्तिक १५ गते तय भएको जिल्ला अधिवेशन स्थगित गरिएको उल्लेख छ । विज्ञप्तिमा पार्टीको विद्यान, विद्यि, प्रक्रिया र संगठनात्मक मर्यादालाई आत्मसात् गर्दै सबै तहका अधिवेशनहरू व्यवस्थित, निष्पक्ष र सहमतिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले यस्तो निर्णय गरिएको जनाइएको छ ।

अधिवेशन सम्पन्न हुन बाँकी रहेका पालिकाहरूको अधिवेशन प्रक्रिया पूरा गरी जिल्ला अधिवेशनको नयाँ मिति यथाशीघ्र तय गरिने कांग्रेस नुवाकोटले जनाएको छ ।जिल्ला कांग्रेसले पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता, क्षेत्रीय तथा पालिका कार्यसमिति, महाधिवेशन प्रतिनिधि एवं शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै पार्टीको आन्तरिक लोकतन्त्र, एकता र संगठनात्मक सुदृढीकरणका लागि सबैको सहयोग र सकारात्मक भूमिकाको अपेक्षा गरेको छ । नियमित पक्षले नुवाकोट क्षेत्र नं २ को अधिवेशन सम्पन्न गरिसकेको छ । १ मा भने अधिवेशन बाँकी रहेको बताएको छ ।

नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले पार्टीका केन्द्रीय प्रतिनिधि तथा कांग्रेस नेता ध्रुर्वप्रसाद अधिकारीको आतिथ्यतामा सदमुकाम विदुरमा आयोजित कार्यक्रममा पार्टीको विद्यान अनुसार ३५ जना महाधिवेशन सर्वसम्वत रुपमा चयन गरेको छ । निर्वाचन समितिका संयोजक रामचन्द्र ढुंगेलका अनुसार खुल्ला १० पूरुष महाधिवेशन प्रतिनिधिमा पार्टीका पुराना नेतादेखि युवा नेताहरु समेटिएका छन् । खुला १० मा केन्द्रीय प्रतिनिधिका रुपमा रहेका पार्टी नेता धु्रर्वप्रसाद अधिकारी, हरिकृष्ण श्रेष्ठ, श्रीराम श्रेष्ठ, बासु सापकोटा, बैकुण्ठबहादुर पाण्डे ध्रुर्व ढकाल, जयराम दाहाल, शुकदेव दाहाल, अर्जुकुमार नेपाल, बसन्तजंग ठकुरी चयन भएका छन् ।

यस्तै महिला खुल्लामा ४ मा विन्दादेवी अर्याल, सुनमाया तामाड, अञ्जना अर्याल र हिराकुमारी शर्मातिवारी चयन भएको निर्वाचन समितिले जनाएको छ । समावेशी १० मा श्यामराज पाण्डे, कृष्ण सुनार, बाबुराम तामाड, अच्युत रिजाल, सुमित्रा तामाड, अक्षय गजुरेल, बसन्त तामाड, देवकी नेपाल, प्रचण्ड राई, लुमडी कार्की रहेका छन् ।
प्रजातन्त्र सेनानीमा गोकुलप्रसाद दाहाल र अच्युतराज महन्तगिरी चयन भएका छन् । ४० वर्ष मुनिमा किरणप्रसाद गजुरेल र पवित्रा ओझा चयन भएका छन् ।

यस्तै अन्य २ मा प्रकाश ढुंगाना र उमेश थापामगर चयन भएका छन् । यस्तै नवयुवामा हेमन्त नेपाल र अप्सरा पन्त चयन भएका छन् । दुवै २८ मुनिका हुन् । कांग्रेस यसपटक जेनजी युवालाई पनि समेटेको छ । कांग्रेस विद्यानमा पालिका सभापति, क्षेत्रिय तथा प्रदेश सभापति स्वत महाधिवेशन प्रतिनिधि रहने व्यवस्था रहेको छ ।
निर्वाचित क्षेत्रीय समितिका पदाधिकारी र महाधिवेशन प्रतिनिधिलाई जिल्ला संयोजक श्रीराम श्रेष्ठले खादामालासहित स्वागत गरेका हुन् । निर्वाचन समितिले सो निर्वाचित भएको प्रमाणपत्र भने जिल्ला अधिवेशनका दिन वितरण गर्ने जनाएको छ ।


सर्वाधिक रुचाइएको