बिजेतालाई पुरस्कारसहित अवार्ड प्रदान
बिदुर – ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’का विजेतालाई नगद पुरस्कारसहित अवार्ड प्रदान गरिएको छ । चीनमा आयोजित सो फेस्टिभल’का विजेतालाई नेपालमा कुल १० हजार अमेरिकी डलर नगद पुरस्कारसहित अवार्ड प्रदान गरिएको हो । चीनको हुनान प्रान्तस्थित छाङसामा गत अप्रिल १४ देखि १९ सम्म सन्चालित नेपाली चलचित्र सप्ताहमा ‘एन्जिला’ उत्कृष्ट चलचित्र घोषित हुँदै ४ हजार डलर पुरस्कार प्राप्त गरेको थियो । ‘तेल भिसा’बाट शंकर घिमिरे उत्कृष्ट निर्देशकमा २ हजार डलर प्राप्त गरेका छन् ।

‘छक्का पञ्जा’बाट दीपकराज गिरी उत्कृष्ट अभिनेतामा पुरस्कृत भए । ‘कबड्डी ४’बाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भ एभने उनीहरूले जनही एक हजार डलर पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट छायाकारमा ‘महाजात्रा’बाट पुरुषोत्तम प्रधानले र ‘होस्टेल ३’ले उत्कृष्ट सम्पादन विद्यामा जनही एक हजार डलर पुरस्कार प्राप्त गरे । डा. सिमोन किउको नेतृत्वमा चिनियाँ प्राध्यापक, चलचित्र विज्ञ तथा फिल्म कलेजका विद्यार्थी सम्मिलित टोलीले चलचित्रको मूल्यांकन गरेको आयोजकले जनाएको छ ।

पुरस्कार वितरणका लागि हलिउड निर्देशक चेन शि–झेङसहित आठ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको अध्यक्षतामा सम्पन्न समारोहमा वरिष्ठ अभिनेता हरिहर शर्मा प्रमुख अतिथि रहेका थिए । समारोहमा उपस्थित चलचित्रकर्मीले चिनियाँ प्रतिनिधिमण्डललाई उठेर ताली बजाउँदै ‘स्ट्यान्डिङ ओभेसन’ दिएका थिए । फेस्टिभलका संस्थापक अध्यक्ष ली होङ्सुले चलचित्रमार्फत नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिने बताए ।

फेस्टिभल अध्यक्ष करुण थापाले यसले नेपाली चलचित्रका लागि चिनियाँ सिनेमा हल तथा ओटीटी बजारमा प्रवेशको ढोका खोल्ने विश्वास व्यक्त गरे । बोर्ड अध्यक्ष डीसीले नेपाली चलचित्रले भविष्यमा चीनमा ठूलो व्यवसायिक बजार पाउने सम्भावना रहेको बताए । समारोहमा चिनियाँ लगानीकर्ताले नेपाली निर्मातासँग सह–उत्पादनमा चलचित्र निर्माण गर्न र एआई प्रविधिमा आधारित चलचित्रलाई चिनियाँ ओटीटी प्लेटफर्ममा प्रदर्शन गर्न सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन् ।

कार्यक्रमका आर्थिक प्रायोजक तथा ग्वाङझाउ सिगुआङयुन टेक्नोलोजीका अध्यक्ष ली हानसहित चिनियाँ प्रतिनिधिलाई विशेष सम्मान प्रदान गरिएको थियो । चिनियाँ प्रतिनिधिमण्डलले बोर्ड अध्यक्ष डीसी र फेस्टिभल अध्यक्ष थापालाई पनि सम्मान गरेको थियो । बोर्डका अध्यक्ष दिनेश डीसीले यसवाट नेपाली चलचित्रको संरक्षण, उत्साह तथा प्रवद्र्धनमा हौसला जागेको वताए ।













































