बिद्युत र टेलिकमको गुणस्तरियता सुधार्न सन्चारमन्त्रिको निर्देशन
बिदुर – विद्युत र टेलिकमको गुणस्तरियता सुधार्न सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले समवन्धित पक्षलाई निर्देशन दिएका छन् । नुवाकोटको समग्र विद्युत् आपूर्ति अवस्था, विद्युत् पूर्वाधार तथा नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रवाहको अवस्थाबारे जानकारी लिँदै मन्त्रि डा. तिमिल्सिनाले सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । नुवाकोट क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख राजकुमार रमणसँग छलफल गर्दै नुवाकोटमा विद्युत् आपूर्तिको अवस्था, वितरण प्रणाली, आवश्यक पूर्वाधार, सेवा प्रवाहमा देखिएका समस्या तथा तिनको समाधानका थालिएका पहलबारे विस्तृत जानकारी लिएका हुन् ।
उनले टेलिकमकको भौतिक सुधारमा जोड सम्वन्धित पक्षसंग चासो व्यक्त गरेका छन् । छलफलका क्रममा मन्त्रि डा. तिमिल्सिनाले जिल्लावासीबाट पटक/पटक विद्युत् बारम्बार अवरुद्ध हुने समस्याबारे गुनासो आउने गरेकाले यसलाई प्राथमिकताका साथ समाधान गर्न निर्देशन दिए । विद्युत् आपूर्ति नियमित, भरपर्दो र गुणस्तरीय बनाउन आवश्यक प्राविधिक सुधार तथा व्यवस्थापनका काम तत्काल अघि बढाउन मन्त्रि डा. तिमिल्सिनाले सचेत गराएका छन् ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले जनताको माग र आवश्यकता अनुसार विद्युतीय ट्रान्सफर्मर, विद्युत्का पोल, तार तथा अन्य आवश्यक सामग्रीको उपलब्धता सुनिश्चित गर्न निर्देशन दिँदै नुवाकोटको वास्तविक आवश्यकता अनुसार विद्युत् पूर्वाधार पर्याप्त भए/नभएको मूल्याङ्कन गरी आवश्यक स्थानमा तत्काल विस्तार गर्नुपर्ने बताए । उनले पहिरो, प्राकृतिक विपद् वा अन्य कारणले ढलेका विद्युत्का पोल तत्काल प्रतिस्थापन गरी अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्नसमेत निर्देशन दिए । साथै जोखिमपूर्ण अवस्थामा रहेका झुन्डिएका तथा अव्यवस्थित विद्युत्का तारको व्यवस्थापनलाई पनि उच्च प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए ।
नुवाकोटका केही स्थानमा नेपाल टेलिकमका टावरसम्म विद्युत् पहुँच नपुग्दा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको विषयमा समेत मन्त्री तिमिल्सिनाले चासो व्यक्त गरेका छन् । दूरसञ्चार सेवा प्रभावकारी बनाउन आवश्यक स्थानमा विद्युत् विस्तार गरी टेलिकमका टावरमा नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न आग्रह गरे । उनले विद्युत् सेवा केवल बत्ती बाल्ने विषय मात्र नभई शिक्षा, स्वास्थ्य, सञ्चार, डिजिटल सेवा, व्यापार तथा दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएको आधारभूत सेवा भएकाले नागरिकले सहज, सुरक्षित र गुणस्तरीय सेवा पाउने वातावरण बनाउन प्राधिकरणले सक्रिय रूपमा काम गर्नुपर्ने बताए ।

नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख राजकुमार रमणले छलफलका क्रममा नुवाकोटमा विद्युत्को ठूलो प्रकृतिको समस्या नरहेको जानकारी दिए । उनले केही स्थानमा अझै पुराना नाङ्गा तार प्रयोगमा रहेकाले त्यस्ता क्षेत्रमा क्रमशः कालो (इन्सुलेटेड) तार प्रतिस्थापन गर्ने प्रक्रिया अघि बढाइने वताए । प्रमुख रमणले आवश्यक पूर्वाधार निर्माण तथा सेवा सुधारका लागि बजेटको अभाव नरहेको उल्लेख गर्दै नागरिकले गुनासो गरेका स्थानमा तत्काल प्राविधिक टोली परिचालन गरी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले हाल एकल फेज (सिंगल फेज) र तीन फेज (थ्री फेज) विद्युत् जडानका अधिकांश सेवाहरू एउटै दिनमा उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिए ।त्यसैगरी, उद्योग तथा व्यावसायिक प्रयोजनका लागि आवश्यक ‘टाइम अफ डे (टिओडी) मिटर’ जडानको सेवा अधिकतम दुई दिनभित्र उपलब्ध गराउने गरी सेवा प्रवाहलाई थप छिटो र प्रभावकारी बनाइएको उनको भनाइ थियो । छलफलमा नुवाकोटमा विद्युत् पूर्वाधारको सुदृढीकरण, सेवा प्रवाहमा देखिएका समस्या तत्काल समाधान, जोखिमयुक्त संरचनाको व्यवस्थापन तथा दूरसञ्चार सेवासँग सम्बन्धित विद्युत् आपूर्तिलाई थप भरपर्दो बनाउने विषयमा विशेष जोड दिइएको थियो ।

उता, नुवाकोटकै किस्पाङमा टेलिकमको मोबाइल नेटवर्क सुधारका लागि पहल गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयमा स्थानीयवासीले ध्यानाकर्षण गराएका छन् ।
रास्वपा किस्पाङ गाउँपालिका सभापति शिवप्रसाद भट्टको टोलीले किस्पाङ गापामा कमजोर टेलिकमको मोबाइल नेटवर्क सेवाका कारण नागरिकले भोगिरहेका समस्याबारे सूचना तथा सञ्चार मन्त्रालयमा ध्यानाकषर््ण गराएको छ । यस सम्वन्धमा नुवाकोट २ का प्रतिनिधिसभा सदस्य डा. अचुतम लामिछानेको पहलमा टेलिकमको नेटवर्क सुधारको विषय सूचना तथा सञ्चार मन्त्रालयमा पत्रसहित पठाएर सुधार गर्र्न आवश्यक पहल थालिएको हो ।
किस्पाङलगायतका जनताले भरपर्दो मोबाइल तथा इन्टरनेट सेवा प्राप्त गर्नका लागि उक्त माग गरिएको सभापति शिवप्रसाद भट्टको भनाई छ । किस्पाङ नुवाकोटको पर्यटकिय स्थलसमेत हो ।











































