चालकहरुको सडकमै स्वास्थ्य परिक्षण
बिदुर – दुर्घटना न्युनीकरण कार्यक्रमअन्र्तगत नुवाकोटमा सन्चालित यातायातका साधनहरुका चालकहरुको सडकमै स्वास्थ्य परिक्षण गरिएको छ । समुदाय–प्रहरी साझेदारी अबधारणा अनुसार सार्वजनिक यातायातका साधनका चालकहरुको लागू पदार्थ सेवन परिक्षण गरिएको हो । सवारी दुर्घटना न्यूनीकरण तथा जनचेतना अभिवृद्धि तथा लागू पदार्थ सेवन गरी सवारी चलाउने चालकहरुलाई सचेतना प्रदान गर्ने उद्धेश्यका साथ जिल्ला प्रहरी कार्यालय, त्रिशूली अस्पताल र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा काठमाडौं–टोखा–छहरे–त्रिशूली सडकखण्डमा सन्चालन भएका सार्वजनिक यातायातका साधनका चालकहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।

त्रिशूली अस्पतालका डा. राजेन्द्र लामालगायतको टोलीले चालकहरुको लापसे परिक्षण गरेको हो । उक्त सडकमार्गको वीचमा रहेको लिखु गापा १ ढिकुरेस्थित इलाका प्रहरी ढिकुरेको कार्यालय परिसरमा टोखा–छहरे सडक खण्ड भएर सञ्चालित सार्वजनिक यातायातका २७ जना चालकहरुको लापसे. परिक्षण गरिएको ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक विनोद ढकालले जानकारी दिए ।

उनका अनुसार परिक्षण गरिएका चालकहरुको लापसे नकारात्मक परिमाण आएको थियो । साथै चालकहरुलाई सवारी नियम सम्वन्धि सचेतनासमेत प्रदान गरिएको छ । चालकहरुको स्वास्थ्य परिक्षण अन्तर्गत सुगर, दृष्टी परिक्षण, रक्तचाँप, पल्सरेटलगायतको समेत परिक्षण गरिएको थियो ।













































