नाती खोज्दै वैतेश्वरदेखि बिदुरसम्म

– हेर्दाहेदै खण्डहर भयो व्यस्त बजार
लोकखवर विशेष संवाददाता
२०८३ भाद्र १५, सोमबार २२:००

बिदुर – दोलखाको वैतेश्वरका वृद्ध डिल्लीवहादुर तामाङ त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले खण्डहर भएको ढुंगेवजारस्थित नदी किनारामा घुंडाभन्दा मुनी हिलो गाडिएको अवस्थामा भेटिए । पांच दिन अगाडिको प्रलयकारी बाढीमा वेपत्ता आफ्नो २५ वर्षिय नाती जगत पाख्रिन कतै भेटिन्छन कि भनेर आफै हिलोमा पसेको रुदै वताए । पर्यटनको क्षेत्रमा ट्रेकिङमा आवद्ध नाती जगतको खोजीमा उनी आफ्नो भतिजो निशान तामाङसंगै उजाडिएको ढुंगेस्थित त्रिशूली किनारामा सोमवार भौंतारिदै थिए ।

नातीसहित उस्को समूहमा रहेका आठ जना बाढीमा परेर रसुवाको टिमुरेवाट हराएको ७५ वर्षिय डिल्लीवहादुरले रुदै भने । अव जिउंदो भेटिने त के आस थियो र शरिर फेला पर्छ कि भनेर खोज्न आएको वताए । बाढीमा हराएका नाती जगत आफ्नो जेठो छोरातर्फको छोरा भएको उनले वताए । हराइरहेका आफ्ना नातीको साथीको आफन्त तथा परिवारसमेत खोज्न आएको उनले वताए । उनीहरु कहिले खोला किनार त कहिले सुरक्षा निकायको ढोका पुगेर आफ्ना हराइरहेकाको सोधखोज गरिरहेका छन् ।

भोटेकोशी हुँदै चीनवाट रसुवागढी नाका हुदै त्रिशूली नदीमा वुधवार विहान आएको अकल्पनीय बाढीले नुवाकोटमा रहेका नदी किनारा र आसपासका बस्ती वगाएको छ । बाढीले हताहत भएकाहरुको खोजी भइरहेको छ । पांच दिन वितदासमेत बाढीमा फसेका, पुरिएका तथा घाइतेहरुको खोजी भइरहेको छ । पुरिएका बाटो तथा घर टहरा सुरक्षित रुपमा खोतल्ने काम सुरु भएको छ । बाढीले नुवाकोटको चार स्थानीय तहको नदी किनारामा रहेका ठुला वस्तीहरु वगाएको हो ।

नुवाकोटको ढुंगे, त्रिशूली, देवीघाट, वेत्रावतिलगायतका वजार कहिले उठ्न नसक्ने गरि उजाडिएको छ । हिलो, ढुंगा र गेग्रानले वस्ती नै कुनै चलचित्रको दृश्यझै पुरिदिएको छ । नुवाकोटको व्यस्त ढुंगे वजारमा मात्र प्रलयकारी बाढीले नौ जना हराइरहेको स्थानीवासी वताउंछन् । हराइरहेकाहरुमा पांच जना महिलामात्र रहेका छन् ।

बाढीले नुवाकोटमा ठुलो जनधनको क्षति गरेको छ । क्षतिको प्रारम्भिक तथ्यांक तयार हुदै गरेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उनले प्रारम्भिक तथ्यांक अनुसार आठ वटा सरकारी भवन बाढीले ध्वस्त पारेको वताए । कृषि विकास बैंक, कृषि विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, पुरानो जिल्ला कारगार भवन, पुरानो जिल्ला कारागार भवन, पशु सेवा कार्यालय, बिदुर नपा १ को वडा कार्यालयसहित आठवटा सरकारी कार्यालयका भवनहरूमा क्षति पुगेको जिल्ला विपद वयवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रजिअ रेग्मीले वताए ।

त्रिशूली, देवीघाट र त्रिशूली थ्रिएसहित तीन वटा जलविद्युत गृह, एक सरकारी र तीन संस्थागत गरि चारवटा विद्यालयमा बाढीले क्षति गरेको छ । सरकारी प्रारम्भिक तथ्यांकमा करिव आठसय घर ध्वस्त भएको अनुमान गरिएपनि सो भन्दा वढि अर्थात् एकहजार घरमा क्षति पुगेको स्थानीयवासीको अनुमान रहेको छ ।
बाढीले १५ वटा पक्की पुल र नौ वटा झोलुङ्गे पुल ध्वस्त वनाएको छ । बाढीले पुलका साथै सडक नै वगाएपछि त्रिदेशिय सडकमार्ग अन्र्तगत रहेको गल्छी–बिदुर–त्रिशूली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक खण्ड पूर्ण रूपमा ठप्प रहेको छ ।

प्रलयकारी बाढीले बिदुर नपा ६ खम्पाक्याम्पस्थित केन्द्रीय कारागार नुवाकोटको पश्चिमतर्फको कम्पाउण्ड पर्खाल बाढीले बगाएको र केही खण्ड पुरिएको छ । यद्यपि, कैदीबन्दीहरू सुरक्षित रहेको र कार्यालय भवनको भुइँतल्ला बाढीले पुरिएको प्रजिअ रेग्मीले वताए । बाढी गएको पांचौं दिन अर्थात् सोमवारसम्म नुवाकोटमा ९५ वटा शव संकलन भएको जिल्ला प्रहरी कायाृलय नुवाकोटले जनाएको छ । चारसय भन्दा वढि हेलिकप्टर फ्लाइटमार्फत दुईहजार नौसय ९२ जनालाई उद्धार गरिएको प्रहरी उपरिक्षक विपीन रेग्मीले जानकारी दिए ।


सर्वाधिक रुचाइएको