बिदुरमा डिएनए नमूना संकलन केन्द्र
बिदुर – भोटेकोशी हुँदै चीनवाट रसुवागढी नाका हुदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटमा धेरै मानवीय तथा भौतिक क्षति गरेको छ । मृतकहरुको डिएनए नमूना संकलन केन्द्र बिदुरमा सन्चालन गरिएको छ । बिदुरमा नेपाल प्रहरीद्वारा डिएनए नमूना संकलन केन्द्र र अस्थायी फिल्ड अस्पताल सञ्चालन गरिएको हो ।

भोटेकोशी हुदै त्रिशूली नदीमा आएको विनासकारी बाढीपछि बेपत्ता व्यक्तिहरूको पहिचानका लागि नेपाल प्रहरीले नुवाकोटको विदुरमा डिएनए परीक्षणका लागि नमूना संकलन केन्द्र सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बाढीमा फेला परेका शवको पहिचान सहज बनाउन बेपत्ता व्यक्तिका नजिकका जैविक आफन्तबाट नमूना संकलन सुरु गरिएको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । यससँगै प्रभावित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन अस्थायी फिल्ड अस्पतालसमेत सञ्चालनमा आएको छ ।

बिदुरमा नेपाल प्रहरी अस्पतालको पाँच शैयाको अस्थायी फिल्ड अस्पताल सञ्चालन भएको हो । भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शैयाको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको हो । अस्थायी फिल्ड अस्पतालबाट विशेषज्ञ चिकित्सक, बहिरंग तथा वार्ड सेवा, औषधि, प्रयोगशाला लगायतका स्वास्थ्य सेवा आमसर्वसाधारणले निःशुल्क रूपमा पाउने व्यवस्था गरिएको छ ।












































