आश्रित केन्द्रमा रोगव्याधीको चिन्ता

– सुत्केरी तथा वालवालिका समस्यामा
लोकखवर विशेष संवाददाता
२०८३ भाद्र २१, आईतवार २२:०९

बिदुर – भोटेकोशी हुँदै चीनवाट रसुवागढी नाका हुदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटसहित तीन जिल्ला निकै प्रभावित भएको छ । अकल्पनीय बाढीले नुवाकोट, रसुवा र धादिङ जिल्लालाई धनजनको क्षति गरि प्रभावित वनाएको हो । बाढीवाट घरवार विहीन भएकाहरुलाई नुवाकोटको बिदुर, वेलकोटगढी नगरपालिका र किस्पाङगापामा सन्चालित विभिन्न २५ वटा आश्रित केन्द्र अर्थात् होल्डिङ सेन्टर कायम गरि राखिएको छ । जसमध्ये बिदुर नपामा १९, बेलकोटगढी नपामा चार र किस्पाङ गापामा दुई वटा आश्रित केन्द्र कायम गरिएका छन् ।

ति आश्रित केन्द्रहरुमा आइतवार वेलुकीसम्म एकहजार दुईसय ११ महिलासहित कुल दुईहजार सातसय १४ जना वसोवास गरिरहेका छन् । ति प्रत्येक आश्रित केन्द्रहरुमा ११ जनादेखि तीनसय ३५ जनासमेत वसोवास गरिरहेका छन् । अधिकांश आश्रित केन्द्र अर्थात् होल्डिङ सेन्टरमा वालवालिका, सुत्केरी, वृद्धवृद्धा तथा नियमित औषधि सेवन गर्नेहरु रहेका छन् । हजारौं घर बाढीले नष्ट गरेपछि बाढी पीडितहरु आश्रित केन्द्रमा पुगेका हुन् ।

आश्रित केन्द्र अर्थात् होल्डिङ सेन्टरमा वर्षात्को समय रहेको र गर्मीका कारण विरामी हुने र जीवजन्तुको त्रास रहेको पीडितहरु वताउंछन् । नुवाकोटको पिपलटारको चन्द्रज्योती केन्द्र, आयुर्वेदलगायतका आश्रित केन्द्रहरुमा सुत्केरीसमेत रहेका छन् । उनीहरुको लागि विशेष वयवस्था गरिनु पर्ने परिवारजनले वताएका छन् । वालवालिका, वृद्धवृद्धा तथा सुत्केरीहरुमा स्वास्थ्य समस्या देखिन थालेको उनीहरुले वताए । धेरै जना वसोवास गर्नुपर्ने कारणले एकैस्थानमा शौचालय तथा पानीकोसमेत अभाव हुन थालेको छ । चिकित्सकसहितको स्वास्थ्य टोली परिचालन गरिनु पर्ने बाढी पीडितहरुले माग गरेका छन् ।

आश्रित केन्द्रमा विभिन्न रोगव्याधीको संक्रमण हुन सक्ने भएका कारण नियमित रुपमा स्वास्थ्य टोली परिचालन गरिनुपर्ने आश्रितहरुले माग गरेका छन् । उनीहरुले आश्रित सेन्टरको विकल्पसमेत खोजिनु पर्ने माग गरेका छन् । नुवाकोटमा कायम २५ मध्ये अधिकांशमा स्वास्थ्यकर्मी छैनन् । स्वास्थ्यकर्मीहरुको व्यवस्थापनको कार्य भइरहेको जनाईएको छ । बिदुर नपा ६ को बट्टार चौतारा चिस्यान केन्द्र र किस्पाङको कार्की मनकामना आधारभुत विद्यालयमा ११/११ तथा कोलोनी कभर्ड हल र भैरुम माविमा सवैभन्दा धेरै तीनसय ३५ जना वसोवास गरिरहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

स्थानीय तह तथा वडा कार्यालयको समन्वयमा बाढीवाट विस्थापित परिवारलाई ति केन्द्रहरुमा राखिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले वताए । बाढीवाट वट्टार कभर्ड हलमा मात्रै दुइसउ ६९, स्टार वोर्डिङ कोलोनीको एकै आश्रित केन्द्रमा दुईसय ३४, बिदुर किरियापुत्री भवनमा एकसय ८७, चन्द्रज्योती मावि पिपलटारमा एकसय ८०, बट्टार तामाङ प्लाजामा एकसय ७५, बिदुर ३ माझिगाउंमा एकसय ६९ जना कोलोनीको किम्ताङटोलमा एकसय एकसय ५८ जना वसोवास गरिरहेका छन् । पिपलटारको आयुर्वेद अस्पतालमा एकसय १८, गेर्खुको सुन्दरीक्यौरेनी माविमा एकसय १४, आंगापुटारको सुलक्षणा माविमा एकसय दुई जना, स्वास्थ्यचौकी बिदुर २ मा एकसय जना वसोवास गरिरहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

अन्य स्थानहरुमा एकसय जना भन्दा थोरै वसोवास गरिरहेका छन् । हालसम्म तीनहजार चारसय तीन जनाको उद्धार गरिएको छ । जसमध्ये दुईसय ९२ जना विदेशी र तीनहजार एकसय ४६ जना नेपाली नागरिक रहेको प्रजिअ रेग्मीले वताए । उनका अनुसार एकसय ९३ जनाको बाढीवाट शव निकालिएको छ । ६६ जना घाइतेलाई उद्धार गरि अस्पताल पठाइएको नुवाकोट प्रशासनले जनाएको छ । दुईसय ११ जना विदेशीसहित दुईहजार ६ सय आठ जना वेपत्ता रहेको प्रशासनले जनाएको छ ।

 


सर्वाधिक रुचाइएको