पूर्वप्रधानमन्त्री देउवा बाढीग्रस्त नुवाकोटका विभिन्न स्थानमा
बिदुर – चीनको भोटेकोसी नदी हुँदै रसुवागढी नाकाबाट अकल्पनीय बाढी आएको दुई सातापछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाढीग्रस्त नुवाकोटका विभिन्न स्थानको निरीक्षण तथा अवलोकन गरेका छन् । बाढी आएको १६ दिनपछि देउवाले बिहीबार दलबलसहित नुवाकोटको देवीघाटलगायत विभिन्न स्थानको निरीक्षण तथा अवलोकन गरेका हुन् । यही भदौ १० गते बुधबार भोटेकोसी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोट, रसुवा, धादिङ, गोरखा, चितवन र तनहुँका विभिन्न स्थानमा घर, पुल, जलविद्युत, सडक, विद्यालयलगायतका विभिन्न संरचना बगाएर ध्वस्त पारेको थियो ।

बाढीले हजारौँ व्यक्ति हराइरहेका छन् भने लाखौँ व्यक्ति घरबारविहीन भएका छन् । पूर्वप्रधानमन्त्री देउवाले दलबलसहित पुगेर बाढीग्रस्त नुवाकोटको देवीघाट, ढुङ्गे र त्रिशूली बजार तथा भग्नावशेस भएको स्थानको स्थलगत निरीक्षण तथा अवलोकन गरेका हुन् । उनले प्रभावकारी रूपमा राहत, उद्धार तथा पुनर्निर्माणसँगै पीडितहरूको पुनस्र्थापना हुनुपर्ने बताए । देउवाले विपत्तिको सामना गर्न पीडितहरूको स्वास्थ्य सुरक्षा र पुनस्र्थापनामा जोड दिएका छन् ।

बाढीले क्षति गरेका नेपालको सम्पदा, पहिचान तथा धार्मिक एवं पर्यटकीय स्थलहरूको पुनर्निर्माण पनि जरुरी रहेको उनले बताए । काठमाडौँबाट सडकमार्ग हुँदै नुवाकोटका बाढीग्रस्त स्थान पुगेका देउवाले बाढीपीडितहरूसँग भेट गरी उनीहरूका गुनासोसमेत सुनेका थिए । देउवाले बाढीले बगाएको देवीघाटमा निर्माण गरिएको बेलीब्रिजको समेत निरीक्षण तथा अवलोकन गरे ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस जिल्ला कार्यालय विदुर पुगेर बाढीले नुवाकोटको विदुर, बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा बाढीले पारेको प्रभावसम्बन्धी जानकारीसमेत लिएको कांग्रेस जिल्ला सभापति तथा बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतले बताए । देउवाको साथमा कांग्रेस नेता डा शशांक कोइराला, डा प्रकाशशरण महत, एनपी साउद, मोहनबहादुर बस्नेतलगायतले बाढीग्रस्त स्थानको स्थलगत अवलोकन तथा निरीक्षण गरेका हुन् ।













































