कलाकारहरुले दिए कोषमा रकम

– बाढी पीडितहरुका लागि प्रदान
लोकखवर मनोरन्जन संवाददाता
२०८३ भाद्र २७, शनिबार १५:१५

बिदुर – विपत्तिको समयमा सदैव कलाकार साथमा रहेको जनाउंदै कलाकारहरुले बाढी पीडितहरुका लागि रकम उपलव्ध गराएका छन् । कलाकार संघद्वारा दैवीप्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गरेका हुन् । नेपाल चलचित्र कलाकार संघले बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पांचलाख २५ हजार पांचसय २५ रुपैयाँ सहयोग गरेको हो । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा संघका अध्यक्ष उत्तम केसीको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम वरावरको चेक हस्तान्तरण गरेका हुन् ।

कलाकारहरुको उक्त प्रशंसनीय कार्यको दुवै मन्त्रिले धन्यवाद दिएका छन् । विपत्तिमा कलाकारहरुले गरेको सहयोग महत्वपुर्ण रहेकोसमेत वताए । भोटेकोशी हुँदै रसुवागढी नाकावाट त्रिशूली नदीमा आएको विनासकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि कलाकारहरूबाट रकम संकलन गरी कोषमा जम्मा गरिएको संघले जनाएको छ । संघका अध्यक्ष केसीले बाढी प्रभावित क्षेत्र नुवाकोटका जनप्रतिनिधिका रूपमा मन्त्री डा. तिमिल्सिनाले खेलेको भूमिकाको प्रशंसा गर्दै चलचित्र क्षेत्रका विभागीय मन्त्रीको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको बताए ।

संघका निवर्तमान अध्यक्ष मोहन निरौलाले कलाकार संघको स्थापना सामाजिक सेवाको भावनासहित भएको उल्लेख गर्दै संघले आफ्नो सामाजिक उत्तरदायित्व निरन्तर रुपमा पूरा गर्दै आएको बताए । उनले कठिन समयमा सरकारसँग एकताबद्ध हुँदै प्रभावितलाई सहयोग गर्ने उद्देश्यले कलाकारहरूबाट रकम संकलन गरिएको वताए ।
जेन–जी शहीद दिवस तथा नेपाल चलचित्र कलाकार संघको ३८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमबाट संकलित रकम हस्तान्तरण गरिएको हो । चेक हस्तान्तरण कार्यक्रममा संघकी उपाध्यक्ष पुजना प्रधान, महासचिव सुनील कटुवाल, सहकोषाध्यक्ष पवन केसी, सदस्यहरू इन्द्र लामादोङ, नवीनकुमार श्रेष्ठ, मोनिका दाहाल र संगम राई तथा चलचित्रकर्मी पुकार भट्टराई र लव प्याकुरेलले बाढी पीडितहरुको पुर्नस्थापनाका लागि सुझाव दिएका थिए ।

 


सर्वाधिक रुचाइएको