बाढीग्रस्त स्थानमा उत्खनन् प्रतिवन्ध
– नदीजन्य सामग्री उत्खनन् गरे कारवाही गरिने
बिदुर – ल्हेन्देखोलावाट रसुवागढी नाका हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा धेरै वजार वगरमा परिणत गरिदिएको छ । बाढीले त्रिशूली नदीको तटीय क्षेत्रमा थुपारेका नदीजन्य सामग्री अनधिकृत रूपमा उत्खनन तथा संकलन नगर्न विदुर नगरपालिकाले निर्देशनसहित आग्रह गरेको छ । बाढीले नुवाकोटको किदुर र बेलकोटगढी नपा तथा किस्पाङ र तारकेश्वर गापामा प्रभाव पारेको छ ।
बिदुर नपाले बाढीले बगाएर ल्याई विभिन्न स्थानमा थुपारेका काठ, दाउरा, फलामजन्य पदार्थ तथा अन्य विभिन्न सामग्री नगरपालिकाको अनुमति बिना उत्खनन, संकलन तथा ओसारपसार नगर्न अनुरोध गरेको हो । बिदुर नपाले त्रिशूली नदी क्षेत्रभित्र रहेका यस्ता सामग्री आफूखुसी उठाउने, संकलन गर्ने वा ओसारपसार गर्ने कार्य नगर्न सम्बन्धित सबैलाई सचेत गराएको छ ।

अनुमति बिना त्यस्ता कार्य गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने मेयर राजन श्रेष्ठले वताए । उनका अनुसार विदुर नगरपालिकाले पछिल्लो समय नदीजन्य तथा खानीजन्य वस्तुको उत्खनन, संकलन र बिक्री–निकासीसम्बन्धी ठेक्का प्रक्रियाका सूचनासमेत सार्वजनिक गर्दै आएको छ । बाढीको प्रभाव मुल्यांकन कार्य भइरहेको बिदुर नपाले जनाएको छ ।











































