कोभिड–१९ ले जीवनमा ‘एकान्तता’ ल्यायो : अमिताभ बच्चन
मकवानपुर । अभिनेता अमिताभ बच्चनले बिहीबार ब्लग लेख्दै दर्शकलाई आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।
नानावटी अस्पतालमा कोरोना उपचारार्थ उनले ब्लगको सुरुवात कोभिड–१९ ले जीवनमा ‘आइसोलेसन’, ‘क्वारेन्टिन’ र ‘एकान्तता’ ल्याएको लेखेका छन् ।
अमिताभले अगाडि भनेका छन्, “दिनको सबैभन्दा धेरै प्रतीक्षारत क्षण भनेको डाक्टर र नर्सको उपस्थिति नै हो ।” उनका अनुसार आइसोलेसनका दिनहरू कहिले डाक्टर र नर्स औषधि लिएर थप उपचारका लागि आउँछन् भनेर कुरेर बित्ने गरेको छ । उनले उपचार उपकरणहरूसँग खेल्न पनि सिकिसकेको बताएका छन् । उपचारका क्रममा श्वास केही सेकेन्डका लागि रोकिराख्ने र हिजोको भन्दा सुध्रिएको रिपोर्टको अपेक्षा गर्ने खेल खेल्न सिकिसकेको अमिताभले बताए ।
डाक्टर र नर्सहरूको कुरा नबुझे पनि उनीहरूको प्रतीक्षामा बस्ने गरेको अनुभव अमिताभले पोखेका छन् । साथै उनले यो अनिश्चित संसारबारे लेखेका छन्, “हामी अनिश्चित संसारमा बाँचिरहेका छौं । भोलिको दिनले के लिएर आउने हो थाहा छैन ।”
यी सबै कुराबीच दर्शकको माया र प्रार्थनाले उनलाई खुसी र आशावादी रहन प्रेरित गरिरहने अमिताभले बताएका छन् । उनले अन्तिममा लेखेका छन्, “यो छोटो समयमा मैले यतिधेरै माया र आर्शीवाद पाइरहेको छु । तपाईंहरू मसँगै मेरैछेउमा हुनुहुन्छ भनेर महसुस गरिरहेको छु ।” बाह्रखरी डटकमबाट