मेरो माइक्रोफाइनान्सको नाफा वढ्यो

विदुर–नुवाकोटको वट्टारवजारमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नाफा वढेको छ । सार्वजनिक गरिएको विवरण अनुसार नाफा वढेको हो ।
मेरो माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा लघुवित्तले कुल १२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ दशमलव ४५ प्रतिशत बढी रहेको प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालको भनाई छ ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेपनि खराब कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेका कारण लघुवित्तको खुद नाफा प्रभावित भएको हो ।
समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २१ द्यशमलव १७ प्रतिशत बढेको छ । खुद फि तथा कमिशन आम्दानी २३ दशमलव १३ प्रतिशत घटेको छ ।
त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १५ दशमलव ५२ प्रतिशत र सञ्चालन मुनाफा ५ प्रतिशत बढेको लघुवित्तले जनाएको छ । समिक्षा अवधिमा लघुवित्तको खराब कर्जा ७ दशमलव ६१ प्रतिशतबाट बढेर ९ दशमलव ४९ प्रतिशत बढेको छ ।
जसका कारण लघुवित्तको इम्पेरमेन्ट चार्ज ३ करोड ८८ लाख रुपैयाँबाट बढेर १२ करोड ४२ लाख रुपैयाँ पुगेको छ । फलस्वरुप, लघुवित्तको खुद नाफा प्रभावित भएको हो। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३६ पैसा घटेर १२ रुपैयाँ १५ पैसामा सीमित भएको छ ।
चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५७.९८ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ५२ रुपैयाँ ९१ पैसा रहेको छ । १ अर्ब ४१ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको सोस लघुवित्तको जगेडा कोषमा ७५ करोड ८ लाख रुपैयाँ सञ्चित रहेको छ ।
चैत मसान्तसम्ममा लघुवित्तले १२ अर्ब ३७ करोड २२ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट १४ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ कर्जा लगानी गरेको सहायक प्रवन्धक राजु पुडासैनीको भनाई छ ।