गृहिणी तथा दलित महिला उत्थान कार्यक्रम

–सिपमुलक कार्यक्रम प्रदान
लोकखबर
२०८२ असार ३, मंगलवार २१:५२

विदुर– पञ्चकन्या गाउँपालिकामा गृहिणी महिला तथा विपन्न दलित समुदायलाई लक्ष्यित गर्दै आयआर्जनका कार्यक्रम सन्चालन गरिएको छ । महिलाहरुलाई सीपमूलक तालिमहरू प्रदान गरिएका छन् ।

बागमती प्रदेश सरकार र पञ्चकन्या गापाको साझेदारीमा सञ्चालित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा ‘गृहिणी महिला सशक्तीकरण तथा विपन्न दलित सशक्तीकरण कार्यक्रम’ अन्तर्गत विभिन्न तालिमहरू प्रदान गरिएको हो । विभिन्न वडामा सन्चालित उक्त कार्यक्रमहरू सम्बन्धित वडाका वडाध्यक्षहरूको अध्यक्षता र पन्चकन्याकी उपाध्यक्ष विमला पाठककेसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएका हुन् ।

पाठकले अव महिलाहरु सिप सिकेर आयआर्जन गर्ने क्षमतामा पुगेका कारण सिपलाई सदुपयोग गरेर स्वरोगार हुन आग्रह गरिन् । उक्त कार्यक्रम अन्तर्गत पन्चकन्या १ र २ मा जुत्ता बनाउने तालिम, पन्चकन्या ३ मा साबुन तथा अचार बनाउने तालिम प्रदान गरिएको हो ।

तालिममा सहभागी महिलाहरूले यस्ता सीपमूलक कार्यक्रममार्फत आत्मनिर्भर बन्ने अवसर पाएको वताए । स्थानीयस्तरमै उपलब्ध स्रोत र जनशक्तिको प्रयोग गर्दै सीप विकास गराउने उद्देश्यले आयोजना गरिएका उक्त कार्यक्रमहरूले महिलाहरूलाई आत्मनिर्भर बनाउँदै स्वरोजगारको मार्गमा जाने विश्वास लिइएको छ ।

कार्यक्रममा पन्चकन्या २ का वडाध्यक्ष रामशरण श्रेष्ठले तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । पन्चकन्या गापाले आगामी समयमा अन्य वडाहरूमा पनि आयआर्जनका लागि व्यवहारिक सीप अभिमुखी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।


सर्वाधिक रुचाइएको