तादीको नीति तथा कार्यक्रम पारित
विदुर–नुवाकोटको क्षेत्र नं. १ स्थित तादी गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । गापा कार्यालय खरानीटारमा आयोजित कार्यक्रममा सो गापाको कार्यपालिकाले आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम पारित गरेको हो ।

तादी गापा अध्यक्ष शन्तमान तामाङको सभाध्यक्षमा सम्पन्न तादी गापाको १७ औं गाउँसभा अधिवेशनको पहिलो बैठकमा आगामी आवको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो । नुवाकोटका १२ स्थानीय तहमध्ये तादी गापाले पहिले वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।
अन्य स्थानीय तहहरु आगामी आवको नीति तथा कार्यक्रमको तयारीमा रहेका छन् । तादीले भने गाँउ अधिवेशनमार्फत नीति तथा कार्यक्रम छलफल सहित सर्वसम्मत रुपमा पास गरेको छ ।

नीति तथा कार्यक्रम तादी अध्यक्ष शन्तमान तामाङले पेश गरेका हुन् । अब सोही आधारमा केन्द्रीत भएर आगामी वर्षको बजेट उपाध्यक्ष सञ्जु प्याकुरेलश्रेष्ठमार्फत पेश हुने कानूनी प्राबधान रहेको छ ।

तादीको नीति तथा कार्यक्रम पारित भएसगैँ तादी गापा अब आगामी सोही नीति तथा कार्यक्रममा आधारित भएर बजेटको तयारीमा लागेको छ । देशभरका पालिकाले यहि असार १० गतेभित्र बजेट ल्याउनुपर्ने कानूनी प्राबधान भएपनि तादीले भने त्यो भन्दा अघि नै बजेट ल्याउने तयारीमा लागेको हो ।

तादीको गाउँ अधिवेशनले केही ऐन र नियमावलीहरु पनि पास गरेको छ । सभामा पेश भएको तादी गापाको संघ संस्था दर्ता तथा नियमन ऐन २०८२, तादी गापा खानेपानी, सरसफाई तथा स्वच्छता ऐन २०८२, तादी गापा सार्वजनिक खरिद नियमावली सभामा प्रस्तुत भई सर्वसम्मत रुपमा पास भएको सभाध्यक्ष तथा तादी गापा अध्यक्ष शन्तमान तामाङको भनाई छ ।












































