कलाकारसहित पांच जनालाई आर्थिक सहयोग
-वोर्डका अध्यक्ष डिसी र संघका अध्यक्ष निरौलाद्वारा हस्तान्तरण
बिदुर–कलाकारहरुलाई औषधि उपचार तथा अन्य खर्चका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । पछिल्लो पटक चार कलाकारसहित पांच जनालाई एकैपटक उक्त सहयोग गरिएको छ ।

चलचित्र विकास बोर्डले आफ्नो कार्यक्रमअनर्तगत उक्त सहयोग प्रदान गरेको हो । वोर्डको चलचित्र कल्याकारी कोष सञ्चालक समितिको निर्णयअनुसार विरामी अवस्थाका चलचित्रकर्मीहरूप्रति सम्मान र सहयोग प्रकट गर्दै औषधि उपचार र अन्य खर्च वापत चलचित्रकर्मी तथा उनका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको हो ।

यसरी सहयोग गरिएकाहरुमा चलचित्रकर्मी भैरवबहादुर थापालाई एकलाख, डिलबहादुर तामाङलाई ३० हजार, राजकुमार जोशीलाई २० हजार, स्व. लक्ष्मी श्रेष्ठलाई मरणोपरान्त नगद २५ हजार र नवीनकाजी राईलाई ५० हजार रुपैया आर्थिक सहयोग प्रदान गरिएको चलचित्र विकास बोर्डले जनाएको छ । कार्यक्रमका वीच वोर्डका अध्यक्ष दिनेश डिसी र नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलालगायतले उनीहरुलाई आर्थिक सहयोग प्रदान गरेका हुन् ।

कार्यक्रममा सहयोग कोष संयोजक बसुन्धरा भुसाल, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल द्वन्द्व चलचित्र कलाकार संघ अध्यक्ष नारायण प्रधानलगायतका सहभागिता रहेको थियो । वोर्डले यसअघि पनि विभिन्न कलाकारहरुलाई औषधिउपचार खर्च वापत आर्थिक सहयोग प्रदान गरिसकेको छ ।












































