दुप्चेश्वरमा एकैदिन तीन लाख भेटी संकलन
– शनिवार मात्रै १० हजार वढि तीर्थालु
बिदुर–हिन्दुहरुको आराध्य देव भगवान शिवको विशेष पुजा आराधना गर्ने विशेष महिनाको रुपमा साउन महिनालाई लिने गरिन्छ । यहि साउनको तेश्रो शनिवार नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिरमा हजारौं भक्तजनहरुको आगमन भएको छ ।

दुप्चेश्वर मन्दिरमा दैनिक रुपमा सयौं भक्तजनहरु आउने क्रमसमेत वढिरहेको छ । पशुपतिनाथको पर्यायको रुपमा रहेको दुप्चेश्वर मन्दिरमा जानका लागि यातायातको पहुंच र सहजतासंगै भक्तजनहरु आउने क्रमसमेत वढिरहेको छ ।

काठमाडौ तथा सदरमुकाम विदुरदेखि यातायातको सहजतासंगै दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित करेजुङको ठुलो पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा साउनको तेश्रो शनिवार मात्र एकैदिन १० हजार भक्तजनले दुप्चेश्वरको दर्शन र पुजाआजा गरेका छन् । मन्दिरमा दर्शन गर्नेहरुको लाइन वेलुकीसम्म नै लागेको थियो ।

दुप्चेश्वरमा शनिवार भक्तजनहरुले चढाएको झण्डै तीन लाख रुपैया भेटि संकलन भएको छ । भक्तजनहरु वढेका कारण भेटी संकलन पनि वढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

यातायात र सुलभ वाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यति धेरै भेटी रकम सङ्कलन भएको हो । उक्त स्थानमा पुग्न नुवाकोटको विदुरवाट यातायातमा डेढ घण्टा र काठमाडौवाट दुई घण्टामा पुग्न सकिने दुप्चेश्वर गापा अध्यक्षको सचिवालयका सचिव भुपेन्द्र केसीको भनाई छ ।

भक्तजनहरुको सुविधाका लागि वर्खाको समयमा आवतजावतका लागि वाटोमा कुनै पनि अवरोध र समस्या आएमा त्यसको समाधान गरेर यातायात सन्चालन गरिदै आएको केसीको भनाई छ । हिन्दु र वौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनहरु आउने क्रममा वढोत्तरी भएसंगै भेटी सङ्कलन कार्य वढिरहेको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ ।

प्रसिद्ध दुप्चेश्वर मन्दिर जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौवाट सिधै यातायातको साधन जाने गरेको छ । सो मन्दिरमा हिन्दु तथा वौद्ध समुदायका सर्वसाधारण पुग्ने गरेका छन् ।

दुप्चेश्वरमा शनिवार १० हजार जनाले मन्दिर पुगेर पुजाआजा गरेका छन् । जसमध्ये ६० प्रतिशत महिला रहेका थिए । धेरै तीर्थालुको भिडका कारण लामो समयसम्म मन्दिर दर्शन गर्नका लागि लाइन वस्नु परेको थियो ।

दुप्चेश्वरमा साउनको तेश्रो शनिबार दुई लाख ८४ हजार एक सय ८५ रुपैया भेटी संकलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मन्दिरमा मध्यान्ह आरतीको एकलाख ६ हजार सातसय ७५ हजार रुपैया भेटी संकलन भएको छ ।

यसका साथै क्युआर कोडमार्फत तीनहजार रुपैया भेटी संकलन भएको छ । दुप्चेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी प्रत्येक दिन बेलुकी ५ बजे सामूहिक रुपमा गणना गर्ने कार्य भइरहेको छ । कोषाध्यक्ष श्रेष्ठका अनुसार पछिल्लो दुई वर्षदेखि दुप्चेश्वर मन्दिरमा आउने भक्तजनको उपस्थिती वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय समुन्द्रटार क्रियाशील रहेको बताए ।












































