छांगा झरना प्रवद्र्धन मेला

– सर्वसाधारणले गरे अवलोकन
लोकखबर
२०८२ श्रावण १८, आईतवार १९:५२

बिदुर–पर्यटकिय स्थलको प्रवद्र्धनका लागि नुवाकोटको पश्चिमी भेगमा रहेको तारकेश्वरमा प्रसिद्ध छाँगा खोला झरना प्रवद्र्धन मेला गरिएको छ । आन्तरिक तथा वाह्य पर्यटकहरु झरना अवलोकनका लागि उक्त झरनामा पुगेका थिए ।

तारकेश्वर गाउँपालिकाले गन्तव्य तारकेश्वर, पुगौं छांग ाझरना नारासहित छाँगा झरना अवलोकन मेला गरेको हो । तारकेश्वर गापा १ दाङसिङमा रहेको उक्त प्रसिद्ध झरनामा आयोजित मेलामा सर्वसाधारणको उत्साहजनक सहभागी भएको र यसले पर्यटन प्रवद्र्धनमा मद्धत पुगेको गापा अध्यक्ष शिव अधिकारी अविरलले वताए ।

तारकेश्वरको शान र गौरवको झरनाको रूपमा लिइएको उक्त झरना अवलोकन गर्न नुवाकोट, रसुवा, काठमाडौं र धादिङवाट सर्वसाधारण पुगेका थिए । नुवाकोटको तारकेश्वर गापामा रहेको छाँगाखोला झरनाको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले विशेष सक्रियता देखाएको हो ।

तारकेश्वर गापाले ‘स्थानीय पर्यटन प्रवर्धनका लागि गन्तव्य तारकेश्वर’ अभियान अन्र्तगत एक दिने छाँगाखोला झरना अवलोकन मेला सम्पन्न गरेको हो । सो स्थानको अवलोकन गर्न पुगेका सर्वसाधारणका साथै विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, शिक्षाप्रेमीको उपस्थितीमा झरनाको सुन्दरतामा आजनिदत भएका थिए ।

उक्त झरना मेलामा तारकेश्वर १ का वडाध्यक्ष चक्रवहादुर तामाङ, ३ का वडाध्यक्ष सुर्यमान श्रेष्ठ, ४ का वडाध्यक्ष हरिवहादुर पौडेललगायतको सहभागिता रहेको थियो । तारकेश्वर गापामा रहेको सो झरनाको दृष्याबलोकन गर्न केहि वर्ष अघिदेखि आन्तरिक पर्यटक जाने क्रम जारी रहेको छ ।

विदुरदेखि ४५ मिनेटको दुरीमा पुगिने सो स्थानको पर्यटन प्रबद्र्धन गर्न विभिन्न योजना प्रस्ताव गरिएको छ । उक्त झरना आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र वन्दै गइरहेको तारकेश्वर गापा कार्यालयले जनाएको छ ।


सर्वाधिक रुचाइएको