मृतक परिवारलाई आर्थिक सहयोग

बिदुर– गत साता काठमाडौमा भएको जेनजी आन्दोलनमा क्रममा मृत्यु भएका नुवाकोटको ओखरपौवाका एक युवकका परिवारलाई एक जना युवाले आर्थिक सहयोग गरेका छन् । घरमै पुगेर नगद हस्तान्तरण गरिएको हो ।
लिखु गाउंपालिका १ ढिकुरेका युवा व्यवसायी पुर्णलाल श्रेष्ठले शनिवार उक्त रकम हस्तान्तरण गरेका हुन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ककनी गाउंपालिका–१ कागतीगाउंका २७ वर्षिय शुभराज बलामी (श्रेष्ठ) का परिवारलाई श्रेष्ठले नगदै आर्थिक सहयोग गरेका हुन् । परिवर्तनमा वलामीको योगदान अतुलनीय रहेको र उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै श्रेष्ठले मृतक शुभराजकी आमा भगवती वलामी (श्रेष्ठ) लाई पहिलो चरणमा १० हजार रुपैया रकम आर्थिक सहयोगस्वरुप हस्तान्तरण गरेका हुन् ।
श्रेष्ठले बलामीको परिवारको दैनिकी अवस्था कठिन रहेको उल्लेख गर्दै अन्य संघ–संस्था, समाजसेवी तथा महानुभावलाई पनि सहयोगका लागि आह्वान गरेका छन् । मृतक वलामीको परिवारको दैनिकी अवस्था अति कठिन रहेको हुँदा सम्बन्धित संघ–संस्था, समाजसेवी तथा महानुभावहरूलाई पनि सक्दो सहयोगका लागि पुर्व जनप्रतिनिधि जीतवहादुर वलामीलेसमेत अपिल गरेका छन् ।