एकैपटक २८ पसल अनुगमन

बिदुर- चाडपर्वसंगै नुवाकोटको तारकेश्वर गाउंपालिकामा रहेको विभिन्न पसलहरु अनुगमन गरिएको छ । आमसर्वसाधारणको भीड लाग्ने पसलहरुमा एकैदिन छड्के रुपमा अनुगमन गरिएको हो ।
तारकेश्वर गापा ५ र ६ मा रहेका विभिन्न स्थानका २८ वटा पसलहरुको छड्के अनुगमन गरिएको हो । अनुगमनका क्रममा विभिन्न सात प्रकारका म्याद गुज्रेका अखाद्य तथा पेय पदार्थ जफत गरि नष्ट गरिएको हो ।
आम सर्वसाधारण उपभोक्ताको गुनासो आएपछि तारकेश्वर गापाले सम्वन्धित कर्मचारीसहित गाउँ प्रहरीसहितको टोलीले दुर्य वटा होटेल र २६ वटा किराना पसलहरुको अनेगमन गरेको हो । गोस्र्याङ, कालिमाटी, निग्लेनी, काव्रे, मझुवा, भमरा, कुवापानीलगायतका स्थानमा रहेको २८ वटा विभिन्न पसलहरूको छड्के अनुगमन गरी २५ हजार रुपैया वरावरको म्याद गुज्रिएका, कुहिएका र बिग्रिएका अखाद्य तथा पेय पदार्थ जफत गरि नष्ट गरेको गापा अध्यक्ष शिव अधिकारी अविरलको भनाई छ ।
अनुगमन गरिएकाहरुमा अधिकांशले मापदण्ड पुरा नगरेको पाइएको र कमी कमजोरी सुधार गरेर पसल व्यवसाय गर्न निर्देशन दिइएको अधिकारीको भनाई छ । उनका अनुसार अनुगमनका क्रमा भाइमसला, विस्कुट, चाउचाउ, चियापत्ति, चिजवल, पिठोलगायत विभिन्न पेय पदार्थहरु म्याद गुज्रिनुका साथै कुहिएकोसमेत पाइएपछि जफत गरि नष्ट गरिएको छ ।
उपभोक्ताको स्वास्थ्य सुरक्षाकोे अधिकारलाई ख्याल गरि म्याद गुज्रिएका अखाद्य पदार्थको बिक्री वितरण नगर्न अध्यक्ष अधिकारीले निर्देशन दिएका छन् । सफा र स्वच्छ वातावणमा गुणस्तरीय खाद्य सामग्रीको मात्रै व्यापार गर्न गापाभरिका सम्पूर्ण पसल व्यवसायीहरूलाई आग्रह गरिएको छ ।
स्थानीय सरकारको उक्त निर्देशनलाई अटेरी गरी गुणस्तरहिन खाद्य तथा पेय पदार्थ बेच्ने र जनस्वास्थ्यमा खेलवाड गर्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने अध्यक्ष अधिकारीले चेतावनीसमेत दिएका छन् । स्थानीय सरकार स्वस्थ्य र स्वच्छ व्यवसायको पक्षमा रहेको स्पष्ट पार्दै अध्यक्ष अधिकारीले जनस्वास्थ्यको संरक्षणका लागि चालिएका कदमलाई उपभोक्ता र व्यवसायी दुवैले सचेत भएर मापदण्ड अनुसार गुणस्तरियतामा ध्यान दिन आग्रह गरेका छन् ।
अनुगमनका क्रममा विगतमा भन्दा अखाद्य वस्तुको मात्रा कम भेटिएकाले पसल व्यवसायहरु सुधारोन्मुख रहेको अनुगमन टोलीको निष्कर्ष छ । साथै, अधिकांश पसलमा म्याद गुज्रेको खाद्य तथा पेय पदार्थको उचित समयको ख्याल गर्न सचेत गराइएको छ ।
अध्यक्ष अधिकारीले जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने अखाद्य पदार्थको बिक्री वितरण नगर्न विगतमा दिएको निर्देशनलाई पुनः सचेत गराउँदै तत्कालै यस्ता पदार्थ हटाएर सफा र स्वच्छ वातावणमा गुणस्तरीय खाद्य सामग्रीको मात्रै व्यापार गर्न गाउँपालिकाका सम्पूर्ण पसल व्यवसायीहरूलाई आग्रह गरेका छन् ।
पसले तथा व्यवसायीले खाद्य समान खरिद गर्दा अधिकृत विक्रेता मार्फत म्याद सकिने मिति हेरेर ख्यल गरेर मात्र खरिद गर्नुपर्ने र पसलमा सामानको सुरक्षित भण्डारणको व्यवस्था गर्नुपर्ने समेत अनुगमन टोलीले निर्देशन दिएको छ । स्थानीय सरकार स्वस्थ्य र स्वच्छ व्यवसायको पक्षमा रहेको प्रस्ट पार्दै अध्यक्ष अधिकारीले जनस्वास्थ्यको प्रभावकारी संरक्षणका लागि चालिएका कदमलाई सहज रुपमा लिएर स्वतःस्फूर्त ढङ्गले साथ सहयोग गर्न व्यवसायीलाई विशेष आग्रह गरेका छन् ।