मर्यादित र सभ्य रुपमा देउसीभैलो खेल्न आग्रह

– प्रतिवन्धित कार्य गरे कारवाही
लोकखबर
२०८२ कार्तिक १, शनिबार २१:०४

बिदुर– नेपालीहरुको दोश्रो महत्वपुर्ण पर्व तिहारमा सभ्य र मर्यादित भएर देउसीभैलो खेल्न नुवाकोट प्रशासनले आग्रह गरेको छ । प्रतिवन्धित गतिविधिहरु नगरि कानूनको पालना गर्न प्रशासनले आग्रह गरेको छ ।
नेपालीहरूको पर्वहरू तिहार, छठ २०८२ तथा नेपाल सम्वत् ११४६ पर्वका अवसरमा गरिने नाचगानसहित मनोरञ्जनलाई आ आफ्ना संस्कृति, रीतिरिवाज र परम्परा अनुरूप मनाउन सुझाव दिँदै तिहारको सन्दर्भमा राती नौ बजेपछि कुनै पनि स्थानमा देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय नुवाकोटले सर्वसाधारणमा आग्रह गरेको हो । रातीको समयमा विभिन्न अपराधिक गतिविधिका साथै झैझगडा, लुटपाट चोरी, शान्ति सुरक्षालाई मध्यनजर गर्दै मादक पदार्थ सेवन गरि घर, समाज तथा अरुलाई असर पर्ने गरि होहल्ला, झैझगडा नगरि सभ्य रुपमा पर्व मनाउन आग्रह गर्दै नुवाकोट प्रशासनले कानूनको पालना गरि सामाजिक सद्भाव र भाइचारा कायम गर्दै न्यायपुर्ण समाज निर्माण गर्न स्थानीयवासीलाई सो अनुरोध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईद्वारा हस्ताक्षरित सार्वजनिक पत्रमार्फत कानूनले निषेध गरेका जुनसुकै कार्य नगर्न, नगराउन र गराएको खण्डमा प्रहरी, प्रशासन तथा सरोकारवाला निकायमा जानकारी दिन अनुरोध गरिएको छ । कानून विपरितका कौडा, जुवा, तास, लङ्गुरबुर्जालगायतका खेल नखेल्न र नखेलाउसमेत सचेत गराइएको छ ।
चाडपर्वलाई एकआपसमा भाइचारा र आत्मीयता अभिवृद्धिसँगै एक अर्काको धर्म–संस्कृति र परम्पराप्रति ठेस नपुग्ने गरी सौहार्दपूर्ण तरिकाले तिहार मनाउन प्रशासनले आग्रह गरेको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको भनाई छ । उनका अनुसार झैझगडा गर्ने, अमर्यादित कार्य गर्नेे, व्यक्तिगत तथा सामाजिक हित विपरीतका गतिविधि तथा क्रियाकलाप भए÷गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने छ ।

नुवाकोट प्रशासनले भुइचम्पा, पटका, आतसवाजीलगायत विपदको जोखिम निम्त्याउने कार्य नगर्न पनि सचेत गराएको छ । यसका साथै उपभोक्तालाई मारमा पारेर बजारमा कृत्रिम अभाव, कालोबजारी, सवारी साधनमा तोकिएको भन्दा बढी भाडा, क्षमता भन्दा बढी यात्रु, अस्वाभाविक मूल्यवृद्धि, म्याद गुज्रेका सामग्रीहरुको खरिद बिक्री नगर्न नुवाकोट प्रशासनले सचेत गराएको छ ।
पहाडि संरचना रहेको नुवाकोटमा वालवालिका, विद्यार्थी, युवा क्लव, विद्यालयका साथै विभिन्न समूहमा देउसी, भैलो खेल्ने गर्छन् । कपितयले व्यक्तिगत तथा परम्परागत रुपमा रमाइलो र कतिपयले विभिन्न सामाजिक काममा समेत उपयोग गर्नका लागि देउसी, भैलो खेलेर आर्जित रकम परिचालन गर्ने गरेका हुन्छन् ।


सर्वाधिक रुचाइएको