यसरी गरौं अलैंची खेती

किसानको कुरा
लोकखबर
२७ पुष २०७५, शुक्रबार १५:५३

– डि.एन. दाहाल
प्रा.स. बकैया गाउँपालिका, मकवानपुर 

अलैचींबाट हामीले मनग्ये आम्दानी लिन सक्छौं । सुरुमा जानौं यसका प्रजातिका बारेमा ठूलो अलैंचीका केही उत्पादित प्रजातिहरू छन् । यसबाहेक अनेक उप-प्रजाति वा जातहरू रहेका छन्, जसको नाम स्थानीय लेप्चा, भोटिया र नेपाली भाषामा राखिएको छ । 

१.साउने प्रजाति : यो धेरै अनुकूल प्रजाति हो, जो समुद्रसतहदेखि मध्यम तथा १३५० मिटर  र त्यसभन्दा माथिको उँचाइमा अति उत्तम हुन्छ । यसको बोट बलियो हुन्छ । यसको पातको काण्ड खैरो रातो रंगदेखि हरियो खैरो रंगको हुन्छ । यसको बोटको टुप्पोमा केही सानो हुँदै गएको, १.५ देखि २.० मिटर अग्लो हुन्छ । हष्टपुष्ट, पातहरू गोलाकार र चौडादार अनि भुइँडाँठको रंग रम्से प्रजातिको जस्तै हुन्छ । यसको दाना ठूलो र पोटिलो अनि दानाभित्र ३५.५० मसिनो बीज हुन्छ र वाष्पशील हुन्छ । तेलको मात्रा १.८-२.५ प्रतिशत हुन्छ । मार्चदेखि शुरु भएर मईसम्म फूल फुल्छ अनि सेप्टेम्बर-अक्टोबर महिनामा यसको फसल उठाइन्छ । अत्यधिक उच्च क्षेत्रमा यो नोभेम्बरसम्म पुग्नसक्छ । सिक्किम र दार्जीलिङको निम्न, मध्य र अधिक उच्च क्षेत्रमा यो प्रजाति धेरै मेल खाएको छ । यो प्रजाति छिर्के, फुर्के, पातमा लाग्ने दाग लिफ स्पोट रोगहरु लाग्नसक्छ ।

२. रम्से प्रजाति : यो प्रजाति समुद्रसतहदेखि १५१५ मिटर उँचाइमा धेरै अनुकूल हुन्छ एवं
भिरालो जमिनमा पनि यसको खेती गर्न सकिन्छ । भुइँडाँठको खैरो रातो रंग र सानो पातबाट यो प्रजाति चिनिन्छ । यसको बोट १.५ देखि २.० मिटर अग्लो, बलियो र धेरै संख्यामा आँख्लाहरू हुन्छन् । मई महिनामा फूल फुल्न शुरु हुन्छ अनि अक्टोबर-नोभेम्बर महिनामा फसल उठाउन लायक हुन्छ । यसको दाना छोटो आकारको हुन्छ अनि दानाभित्र २५-४० मसिना बीज हुन्छन् । यसमा छिर्के र फुर्के जस्ता सरुवा रोग लाग्नसक्छ ।

३. बेबो प्रजाति : यो प्रजातिको बोटको गानो अनौठो विशेषताको हुन्छ अनि माटोबाट यसले खाद्य पदार्थ चुस्छ । यसको गानो माटोको माथिसम्म आउँछ अनि जरा माटोमुनि निकै गरिरोसम्म पुग्छ, जसले गर्दा यसले खडेरी वा सुक्खा खप्न सक्छ । कलिलो टुसा बाक्लो पातको दापले ढाकिएको हुन्छ, जसले बोटलाई फुर्के सरुवा रोगलाई सहने शक्ति प्रदान गर्छ । यसको दाना मध्यम-पोटिलो आकारको हुन्छ । यसको बीजमा २ प्रतिशत वाष्पशील तेल हुन्छ ।
४. जङ्गु गोल्से प्रजाति : यो प्रजातिको समुद्रसतहदेखि १५०० मिटर मुनिको क्षेत्रमा अनुकूल हुन्छ र उत्तर सिक्किमको जङ्गुक्षेत्रको लागि खास अनुकूल रहेको छ । बोट १.० देखि १.५ मिटर अग्लो हुन्छ अनि अन्य प्रजातिहरू जस्तो हष्टपुष्ट वा बलियो हुँदैन । रम्से र साउनेभन्दा भिन्न यसको आँख्ला हरियो रंगको हुन्छ र पात सानो र ठाडो हुन्छ । दाना ठूलो र पोटिलो हुन्छ, जसमा ५०-७० मसिनो बीज रहेको हुन्छ । मार्च महिनादेखि फूल फुल्न शुरु हुन्छ र सेप्टेम्बर–अक्टोबर महिनामा फसल उठाइन्छ । यसले छिर्के रोग सहन सक्छ, तर यसमा फुर्के र पातमा सुम्लो हुने रोग लाग्नसक्ने हुन्छ ।

५.भारलाङ्गे प्रजाति :  यो प्रजाति मध्य र अधिक उँचाइ क्षेत्रमा उत्पादन हुने पाइएको छ । अधिक उँचाइ क्षेत्रमा यसको उत्पादन असाधारण रूपमै उच्च हुन्छ । बोट १.५-२.५ मिटर अग्लो, हष्टपुष्ट प्रकारको र रम्से जस्तै सानो पात र त्यसको किनार घुँगुरिएको हुन्छ । यस प्रजातिमा फूलडाँठ र उत्पादक डाँठको अनुपात निकै धेरै हुन्छ । दानाको आकार मोटो–पोटिलो हुन्छ, जसभित्र ५०-७० पोटिलो बीज रहेको हुन्छ । मध्यम उँचाइमा मई महिना र अधिक उँचाइमा जून-जुलाई महिनामा फूल फुल्न शुरु हुन्छ । फलस्वरूप : अधिक उँचाइमा धेरै ढिलो नोभेम्बरको अन्तसम्ममा फसल उठाइन्छ । बीजमा वाष्पशील तेल २.५ प्रतिशत हुन्छ । यसले प्रति हेक्टर ५०० केजी प्रशोधित दानाको उत्पादन दिन्छ ।

६.गोल्से प्रजाति : यसको बोट धेरै बलियो हुँदैन अनि ठाडो पातसहितको काण्ड हुन्छ, यसमा तेर्सो ठाडो पात हुन्छ । यसले स्वयं छहारी दिने हुनाले यसलाई कम सिँयाल चाहिन्छ । यो प्रजाति अधिकांश निम्न तथा मध्य उँचाइमा उब्जाउ गरिन्छ । बोट सानो र कम्ती संख्यामा आँख्ला वा डाँठहरू हुन्छन् । यसैले नजिकको दूरी अनुकूल हुन्छ । यसको जातअनुसार पातसहितको काण्ड हरियोदेखि लिएर खैरो रातो हुन्छ । पातहरू गाढा हरिया, बाक्लो र बीचमा स्पष्ट मध्यकरङ्सहित चिल्ला हुन्छन् । दाना मोटो-पोटिलो, गोलो, रातो-खैरोदेखि लिएर गाढा–कलेजी रंगको हुन्छ र हल्का गोलो हुन्छ । औसत रूपमा एउटा दानामा ४०-५० बीज हुन्छ । बीजमा वाष्पशील तेलको मात्रा २-३ प्रतिशत हुन्छ । यो धेरै उत्पादन नभए तापनि एकनासेपनको कारणले यसलाई जानिन्छ अनि यो छिर्के रोगबाट सुरक्षित हुन्छ, तर फुर्के रोगबाट सुरक्षित हुँदैन ।  यद्यपि यो प्रजाति ढुसीजातीय लिफ-स्पोट (पातमा लाग्ने दाग) रोग लाग्नसक्ने हुन्छ।

७. राम्ला प्रजाति : यो अग्लो र रम्से जस्तै बलियो हुन्छ । यसको दाना कलेजी, एक समान र मध्यम मोटो आकारको र प्रत्येक दानाभित्र २५-३० बीज हुन्छ । बीजमा २.२-३ प्रतिशत वाष्पशील तेल हुन्छ । यसको बोटले छिर्के रोगलाई ठिक्कको सहन गर्न सक्छ, तर फुर्के रोग लाग्नसक्ने हुन्छ।

८. सेरेमना प्रजाति :  यो प्रजाति पश्चिम सिक्किम, हिगाउँको निम्न उँचाइको सानो क्षेत्रमा उत्पादन गरिन्छ र अधिक उत्पादन क्षमताको निम्त यो प्रजाति चिनिन्छ । बोट १.५ देखि २.० मिटर अग्लो, आँख्ला वा डाँठ हरियो र पातहरू अधिकांश झर्ने हुन्छन् । यसैले यसको नाम ‘सेरेमना’ राखिएको हो । औसत रूपमा प्रत्येक उत्पादक फूलडाँठमा १० दाना फल हुन्छ भने प्रत्येक दानाभित्र ६५-७० बीज रेकर्ड गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*