चलचित्र कथा लेखन सम्वन्धि कार्यशाला
बिदुर– नेपाली चलचित्रको कथा लेखन सम्वन्धि कार्यशाला प्रदान गरिएको छ । चलचित्रको कथा लेखन सम्वन्धि प्रयोगात्मक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको छ । नेपाल फिल्म क्याम्पसको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहयोगमा “चलचित्र कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशाला” सफलतापूर्वक सम्पन्न भएको छ ।

एक दिने कार्यशाला नेपाल फिल्म क्याम्पस पिंगलास्थान, गौशालामा सम्पन्न भएको हो । कथा लेखनमा रुचि राख्ने विभिन्न २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको उक्त कार्यशालामा केशव पाण्डे सहजकर्ताको रुपमा रहेका थिए । उनले भारतको फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाबाट पोस्ट–ग्र्याजुएट पूरा गरी हाल नेपाल फिल्म क्याम्पसमा निर्देशन तथा पटकथा लेखन विभागका प्रमुखका रूपमा कार्यरत रहेका छन् ।

कार्यशालामा चलचित्र कथा–विज्ञान, कथाका आधारभूत तत्वहरू तथा लेखन प्रक्रियाबारे व्यावहारिक र सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको थियो । सहभागीहरुको कार्यशालाप्रति उल्लेख्य रुचि देखिएको र ठूलो संख्यामा नाम दर्ता भएकाले माघ र फागुन महिनामा दोस्रो तथा तेस्रो चरणको कार्यशाला पनि सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

यसका साथै, कार्यशालामा सहभागी प्रशिक्षार्थीहरूले पेश गरेका कथाहरूमध्येबाट उत्कृष्ट १० जनाको छनोट गरी उनीहरूका लागि पटकथा लेखनसम्बन्धि विशेष कार्यशाला सञ्चालन गरिने आयोजकले जनाएको छ । पहिलो चरणको कार्यशालाको चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीले समापन गरे ।

अध्यक्ष डिसीले यस्ता कार्यशालाले नयाँ पुस्तालाई चलचित्रमा सिर्जनात्मक रूपमा सक्षम बनाउँदै नेपाली सिनेमा क्षेत्रको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पु¥याउने वताए । उनले यस प्रकारको कार्यक्रम उपलव्धिमुलक रहेको विश्वास व्यक्त गर्दै, कथा र पटकथा सशक्त भएमा नेपाली चलचित्रको स्तर अझ उचाइमा पुग्ने धारणा व्यक्त गरे ।















































