नेपाल कल्चरल अन्र्तराष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

– विभिन्न ३० अवार्ड प्रदान, ३९ देशका ८५ फिल्म प्रदर्शन
लोकखवर मनोरन्जन संवाददाता
२०८२ माघ १९, सोमबार २३:४३

बिदुर– नेपालको चलचित्रलाई अन्र्तराष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्धेश्यले सन्चालित ‘सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ सम्पन्न भएको छ । फेष्टिभलमा विभिन्न ३० विद्यामा अवार्ड प्रदान गरिएको छ । तीन दिनसम्म सञ्चालित उक्त महोत्सवमा विश्वका विभिन्न ३९ देशबाट छानिएका ८५ चलचित्र प्रदर्शन गरिएका थिए ।

महोत्सवको समापन भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित विशेष कार्यक्रममार्फत गरिएको हो । यसअघि उक्त महोत्सवको चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीले उद्घाटन गरेका थिए । महोत्सवको राष्ट्रिय जुरी सदस्यहरुमा निर्देशक तथा कलाकारद्वय रमेश वुढाथोकी र दीपाश्री निरौला रहेका थिए भने फेस्टिवलको संयोजकमा सन्तोष सुवेदी रहेका थिए ।

चलचित्र विकास वोर्डको सहकार्यमा नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा उक्त महोत्सव सम्पन्न गरिएको हो । महोत्सवको समापनमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र र चलचित्रकर्मीलाई अवार्ड प्रदान गरिएको छ । राष्ट्रिय फिचर चलचित्रतर्फ सुवर्ण थापाको निर्देशनमा बनेको ‘द सेक्रेट अफ राधा’ ले सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गरेको छ ।

सोही चलचित्रबाट नरेन्द्र मैनालीले सर्वोत्कृष्ट छायाङ्कनको अवार्ड हात पारेका छन् । अभिनयतर्फ चलचित्र ‘ज्वाइँ साब’ बाट जितु नेपाल सर्वोत्कृष्ट अभिनेता घोषित भए । चलचित्र ‘कोसेढुंगा’ बाट सुरक्षा पन्तले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरिन् ।

‘कोसेढुंगा’ का निर्देशक सरोज पौडेलले सर्वोत्कृष्ट निर्देशकको अवार्ड थापेका छन् । वृत्तचित्र फिल्म ‘इन्टु द मिस्ट’ का लागि सचिन घिमिरेले सर्वोत्कृष्ट लेखकको अवार्ड प्राप्त गरे । राष्ट्रिय वृत्तचित्र विद्यातर्फ निर्देशक लव प्याकुरेलको ‘गल्र्स रिराइटिङ डेस्टिनी’ ले सर्वोत्कृष्ट वृत्तचित्रको अवार्ड हात पारेको छ ।

लघु चलचित्रतर्फ निर्देशक ड्यानियल गदालको ‘इनार’ सर्वोत्कृष्ट भएको छ । निर्देशक गोविन्दप्रसाद ढकालको ‘साइलेट्न स्कार्स’ ले सर्वोत्कृष्ट बाल चलचित्र, निर्देशक आस्था श्रेष्ठको ‘रङ सबै गुलाबी’ ले सर्वोत्कृष्ट महिला चलचित्र तथा निर्देशक सुनीलबाबु पन्तको ‘अजिमा एन्ड सिक्स जेन्डर्स’ ले सर्वोत्कृष्ट सांस्कृतिक चलचित्रको अवार्ड जितेका छन् । लघु चलचित्र ‘दृश्य (द लाइट अफ आइज)’ ले सर्वोत्कृष्ट विशेष मेन्सन अवार्ड प्राप्त गरेको छ ।

जुरी विशेष मेन्सन अवार्ड निर्देशक पत्रिका घिमिरेको ‘ह्वाट ग्रोज इन थारी मैलाको भेगिटेबल गार्डेन?’ तथा निर्देशक डब्बु क्षेत्रीको ‘द चेन्ज’ लाई प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय फिचर चलचित्रतर्फ भारतका निर्देशक जयन चेरियनको ‘रिदम अफ दमाम’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्रको अवार्ड प्राप्त गरेको छ । सोही चलचित्रबाट चीनमाया सिद्धिले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अभिनेताको अवार्ड जिते ।

अस्ट्रेलियाका निर्देशक मौलिनाथ गंगुलीको ‘कुप्पा’ सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय छोटो चलचित्र, लिथुआनियाकी निर्देशक गिएड्रे जेनेभिसियुटेको ‘द हेड’ सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर वृत्तचित्र तथा इजरायलका निर्देशक हावर्ड रिपको ‘गिम्पेलः द फूल रिटन्र्स टु पोल्यान्ड’ सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय छोटो वृत्तचित्र घोषित भयो । बेलायतकी निर्देशक स्वेकृति राईको ‘द पिपल क्लोजेस्ट टु हेभन’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय महिला चलचित्र, काजाकस्तानको ‘स्पार्क’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय बाल चलचित्र, क्यानडाकी निर्देशक फरीबा फरजामको ‘रिड्याक्टेड ड्रिम्स’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्रको अवार्ड पायो ।

थाइल्यान्डको ‘रे द रग’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय एनिमेसन चलचित्र तथा बङ्गलादेशको ‘द टेस्ट अफ हनी’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वातावरणीय चलचित्रको अवार्ड प्राप्त गरेको छ । भारतको चलचित्र ‘सी इट !’ का लागि शान्ति मोहन र मुकुन्द मूर्तिले संयुक्त रूपमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय निर्देशक अवार्ड जितेका छन् । जर्मनीका ओली ड्युरले ‘जेपेलिन राइट अबभ’ बाट सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लेखक अवार्ड प्राप्त गर्दा ब्राजिलकी क्यारोलिन रोहरिगले ‘ट्राइ योर लक’ बाट सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अभिनेत्री अवार्ड हात पारिन् ।

भारतका बेनिश मुजसाबाले ‘नेचर्स ब्यान्डेज’ का लागि सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय छायाङ्कन अवार्ड प्राप्त गरेका छन् । बङ्गलादेशका निर्देशक जमिल्लाह भान डर हल्स्टको ‘ह्वेयर द किड्स ह्याभ नो नेम’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय जुरी अवार्ड जितेको छ । विशेष उल्लेख अवार्डतर्फ हङकङका निर्देशक क्रिस्टिन युङको ‘महाकुम्भः एन ओसन अफ डिभोशन’, चीनका निर्देशक बिङ लुओको ‘न्यु डन’ तथा फ्रान्सकी निर्देशक पाउलिन बर्नार्ड–भर्नायको ‘कासा सुसाना’ सम्मानित भएका छन् ।

महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्रकर्मी, निर्णायक तथा अतिथिहरूको उल्लेख्य सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय श्रेणीअन्तर्गत आयोजित प्यानल छलफलमा बेलायतकी अन्तर्राष्ट्रिय जुरी सदस्य एड्रिना कुलिग, अर्जेन्टिनाका डा. जर्ज जोर्गे क्यारोभोत्ता, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सूर्य थपलिया तथा डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङ सहभागी थिए ।

साथै, अस्ट्रेलियाली चलचित्र निर्देशक मौलिनाथ गंगुलीद्वारा मास्टर क्लास पनि सञ्चालन गरिएको थियो । महोत्सव बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय, गोकर्णेश्वर नगरपालिका, चलचित्र विकास बोर्ड तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा सम्पन्न गरिएको आयोजकले जनाएको छ । महोत्सवले नेपालको चलचित्र अनर्तराष्ट्रियस्तरमा चिनाउन मद्धत पुगेको जनाइएको छ ।


सर्वाधिक रुचाइएको