कविता : साथी फेसबुक
बुढापाकाका चाउरिँदै गएका गाला
तनक्क पारेर तन्काउने
मन प्रफुल्ल पारेर हँसाउने
प्रिय साथी फेसबुक
तँ एउटै रहेछस् !
रोजगारीका लागि परदेशिएको छोरो
उसैको यादमा बसेकी बुहारी
तातेताते गर्दै बोल्दै गरेको नानी
सबैलाई एकैसूत्रमा जोडिदिने
साच्चै तँ जाती रहेछस्
फेसबुक तँ असल साथी रहेछस् !
भेट्न नसकेका आफन्तहरू
सँगै कखरा सिकेका बालसखाहरू
वन, पाखा, पखेरामा
गोठालो जाँदा रमाएका पलहरु
सबैले तेरै सहायताले
अन्तर हृदयदेखि
नाम, थर, वतन लेख्दै
साटिरहेका हुन्छन्
जसले वर्तमान समयमा आफूलाई पनि
त्यही बालापन, तिनै मेलापातमा पुर्याइदिन्छ
त्यसैले फेसबुक जाती रहेछस्
अरे वाह ! तँ क्या गजबको साथी रहेछस् !
परिस्थितिले अलग्याएका
श्रीमान् श्रीमती
समय निकालेर केही बेर
मन बहलाउँछन्
तन टाढा भए पनि
भिडियोच्याटमा गफिँदै मन बुझाउँछन्
त्यत्तिमात्र होइन,
नियतिका ज्वारभाटाहरु एकत्रित पार्दै
प्रेमिल बातले सपनीमा भेट्ने वाचा गर्दै छुट्टिन्छन्
टाढिएकालाई नजिक्याउने
फेसबुक निकै जाती रहेछस्
दुखेको मन तह लगाउन काफी रहेछस् !
छोराछोरीको जन्मदिनमा
एक्लाएक्लै हुँदाको न्यास्रोपन
वैवाहिक वर्षगाँठमा
एक थुङ्गो फूल साट्न नपाउँदाको क्षण
भदाको पास्नी, बावुको न्वारान
भतिजीको गुन्युँचोलीमा सजिएको तस्बिर
फेसबुकमा सेयर गर्दै
शुभेच्छा र आशिषका वचन व्यक्त गर्न
तँ फेसबुक मुख्य माध्यम भएछस्
त्यसैले तँ प्रविधिको युगमा सबैभन्दा माथि रहेछस् !
आपसी सद्भाव
माया, ममता र आत्मीयताको पुल बनेर
तैंले भाइचाराको सम्बन्ध बढाउन
हरहमेसा भूमिका खेलेको छस्
यतिमात्र होइन,
तँ दुःख, रोदन, आँसु र छटपटीहरु
बिर्साउने मुहार पुस्तिका बनिस्
असह्य चोटहरुले
छियाछिया भएको मनलाई
सान्त्वना दिलाउने आत्मीय साथी फेसबुक
तँ सबैको प्रिय बनेर तन भरेको छस्
त्यसैले त फेसबुक तैंले सबैको मन भरेको छस् !
अस्ति मात्र भर्चुअलमा बीस वर्ष पुरानो
साथी भेट्दा म पुलकित भएँ
सात समुद्रपारिबाट
कार्लाले अपलोड गरेका तस्बिर हेरेर
म नेपालमा दंग परिरहेँ
जीवनले गति लिएर जहाँ गए पनि
तैंले नै त छस् सबैलाई एकताबद्ध बना’को
धन्यवाद फेसबुक तँ एक्लोपनको साथी रहेछस्
त्यसैले सबैभन्दा माथि रहेछस् !
(भण्डारा मावि, चितवन)