समकालीन बेगरको संसदीय नेतृत्वमा केसी

चार पुस्तालाई एकैपटक खुवाए सपथ
लोकखवर विशेष संवाददाता
२०८२ चैत्र १३, शुक्रबार ०२:४६

बिदुर – आफ्ना समकालीन बेगरको संसदको नेतृत्व गर्दै नेपालको संसदीय इतिहासमा नुवाकोटका छोरा अर्जुननरसिंह केसीले प्रतिनिधि सभामा नवनिर्वाचित सदस्यहरुलाई सपथ खुवाएका छन् । कुनै वेला एउटै दल तथा अर्को फरक दलवाट एकैपटक संगै संसदीय भुमिकामा जनताका प्रतिनिधिमा चुनिएका केसीका समकालीन अहिले कोही पनि यस संसदमा छैनन् । उनले आफु भन्दा कम उमेरका ७३ वर्षिय परशुराम तामाङ, ७१ वर्षिय टेकवहादुर गुरुङ र महावीर पुन, ७० वर्षिय पुष्पकमल दाहाल प्रचण्डका साथै सवैभन्दा कान्छा अर्थात केसीका नाती समान उमेरका २५ वर्षिय प्रशान्त उप्रेती, २६ वर्षिय केपी खनाल र मनीष खनाललगायत दुईसय ७४ जना नवर्विाचित सांसदहरुलाई सपथ खुवाएका हुन् ।

एक अर्थमा भन्नु पर्दा केसीले नातीदेखि एकैपटक हजुरवुवा अर्थात चार पुस्तालाई सपथ खुवाएका हुन् । २०७२ सालको गणतान्त्रिक संविधानपछिको तेस्रो संसदका लागि जननिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले पहिलो दिन ज्येष्ठ सदस्य केसीवाट पद तथा गोपनियताको सपथ खाएका हुन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले एक्टिङ वर्किङ लिडरका रुपमा नयां सभामुख चयन नभएसम्मका लागि संसदको नेतृत्व गर्नेछन् ।

संसदीय प्रणाली अनुसारको नियम रहेको भए पनि नेपालको संसदीय इतिहासमा नुवाकोटवाट यस दायित्व निर्वाहका लागि पुग्ने केसी नुवाकोटको पहिलो नेता हुन् । केसीले आफुले संसदको निष्पक्षता र नेतृत्वको प्रभावकारी भुमिका कार्यान्वयन गर्ने वताए । साविकको राउतवेसी गाविस हाल दुप्चेश्वर गाउंपालिका ३ मा गत २००४ साल असोज ११ गते पिता भगवानसिंह र माता यशोदादेवी केसीको कोखवाट ज्येष्ठ सुपुत्रका रुपमा जन्मेका केसी यस्ता नेता हुन् जसले २०१७ सालदेखि २०८२ सालसम्मको अवस्थालाई एकैपटक देखभोग गर्न पाउनेमध्येका हुन् ।

यस संसदमा केसीका समकालीन परिवेशका शेरवहादुर देउवा, केपी शर्माओली, डा. प्रकाशचन्द्र लोहनी, विजयकुमार गच्छदारलगायतका कोही पनि यो पटकको संंसदीय यात्रामा छ्रैनन् । केसीले अवको समय उनका लागि समकालीन साथीहरुको भावनालाईसमेत समेटेर र चार पुस्ताको विचारलाई आफ्नो पांच दशक भन्दा लामो राजनीति अनुभवलाई समेलेर एकैसाथ सार्थकतुल्य वनाउनु हिमाल झैं चुनौती जस्तै भएर उभिएको छ । उनले सभामुख चयन नभएसम्मका लागि संसदलाई आफ्नो राजनीतिक चेतनाको विचारलाई विविधताको फुलवारीमा सिंगार्ने अवसरको रुपमा सदुपयोग गर्ने समय आएको छ ।

केसीले वुधवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यसको भोलीपलट अर्थात् विहीवार उनले सिंहदरवारस्थित संघीय संसदको निर्माणाधिन भवनमा पद तथा गोपनियताको सपथ गराएका हुन् । ७८ वर्षीय केसी प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य हुन् ।

संवैधानिक व्यवस्थाअनुसार ज्येष्ठ सदस्यले नै अन्य नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने प्रावधान अनुसार केसीले सो जिम्मेवारी पाएका हुन् । यसअघि केसीले २०४८, २०५१, २०७०, २०७९ मा संसदीय भुमिका निभाइसकेका छन् । नेविसंघ पृष्ठभुमिका केसीले २०३८ सालमा सुर्यवहादुर थापाको सरकारमा स्वास्थ्य राज्यमन्त्रिको कार्यसमेत गरिसकेका छन् ।

केसी शिक्षा, स्वास्थ्य, सहरीविकास मन्त्रि भइसकेका छन् । २०७९ मा सभामुखको आकांक्षी रहेका केसीले यस पटक भने स्वत ज्येष्ठ सदस्यको रुपमा नयां सभामुख चयन नभएसम्मका लागि संसदको अध्यक्षता गर्नेछन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचितमध्ये केसी सवैभन्दा ज्येष्ठ सदस्य हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १ सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० जना निर्वाचित भएका छन् । कांग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका हुन् । उनी यसपटक भने आफ्नो क्षमता, योगदान तथा मुल्यांकन अनुसार पार्टीको संसदीय दलको नेतृत्वमासमेत आकांक्षी रहेका छन् ।

नेपालको राजनीतिक इतिहासमा अर्जुननरसिंह केसीको चर्चा पन्चायतकालीन समयदेखि नै अगाडि आउने गर्दछ । केसी २०३८ साल जेठ २९ देखि २०८२ फागुन २१ गते सम्पन्न भएका संसदीय निर्वाचन सवै देशभोग गर्नेमध्येमा पर्दछन् । केसीले यसपटक आफ्नो सांढे चार दशकको संसद यात्राकै विशेष र अनपेक्षित अनुभव हासिल गरेका छन्, अर्को व्यवस्था नहुँदासम्मका लागि ज्येष्ठ सदस्यको हैसियतले संसदको ‘अध्यक्षता ’ को भुमिका ।

उनले नयां सभामुख चयन भएपछि सो भुमिकावाट विदा लिन्छन् । राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएलगत्तै तत्कालीन सूर्यबहादुर थापा नेतृत्वको सरकारमा केसीले २०३८ सालमा स्वास्थ्य राज्यमन्त्रीबाट आफ्नो ‘मन्त्री यात्रा’ सुरु गरेका थिए । उनी पञ्चायतमा एक, बहुदलकालमा तीन र गणतन्त्रात्मक कालमा एकपटक गरि पांच पटक मन्त्रि भइसकेका छन् ।

नवनिर्वाचित संघीय संसदको पहिलो बैठक बसेको बढीमा १५ दिनभित्र उनले यो पद पनि छोड्नुपर्ने छ । यद्यपि, उनीसँग अर्को मौका नजिक छ । त्यो हो– नेपाली कांग्रेसको संसदीय दलको नेता । नेपालको संसदीय इतिहासमा केसी लगातार बिजयी नभएपनि उनी आफु संसदीय दलको नेताका लागि उपयुक्त पात्र भएको दावी गर्दछन् ।

देशलाई गतिशील, विकास र परिवर्तन गर्न आफ्नो पनि कुनै योगदानको कमि नरहेको केसीको दावी छ । केसी मात्र यस्ता राजनीतिक व्यक्तिका रुपमा चिनिएका छन् कि, उनी आफु संसदमा भए पनि नभए पनि अर्थात मन्त्री भए पनि नभए पनि कुनै न कुनै भूमिकाको साथ चर्चामा रहने गरेका छन् । सार्वजनिक अवस्था, प्रेस तथा सवै पक्षसंग सदावहार शैलीका कारण उनी सफ्टलाइन भुमिकामा रहने गर्दछन् ।

युवा अवस्था अर्थात् ३४ वर्षको उमेरमै २०३८ सालको राष्ट्रिय पञ्चायत सदस्यको पाँच वर्षे कार्यकालपछि २०४३ को निर्वाचनमा भने उनी पराजित भए । अघिल्लो निर्वाचनमा नुवाकोटबाट उनले र डा. प्रकाशचन्द्र लोहनीले जितेका थिए । तर, त्यस निर्वाचनमा उनका सहयात्री लोहनीले फेरि जिते, उनले जीतसिंह खड्कासँग पराजय व्यहोरे । केसी जिल्ला फर्किएर एक वर्षपछि जिल्ला पन्चायतको सभापतिमा विजयी भए ।

केसी जिल्ला पन्चायत सभापति रहेका वेला उनका उपसभापति रामप्रसाद ढुंगाना हाल वागमति प्रदेश सभा सदस्य छन् । ढुंगानाले पनि तीन वर्ष अगाडि वागमति प्रदेश सभामा ज्येष्ठ सदस्यका रुपमा एकसय नौ जना प्रदेश सभा सदस्यहरुलाई सपथ खुवाएका थिए । २०४६ सालको जनआन्दोलनपछि देशमा वहुदल अर्थात् प्रजातन्त्र आयो । पूर्वपञ्चका खेमाले फरक फरक दल गठन गरे । सुर्यवहादुर थापाले राप्रपा थापा र लोकेन्द्रवहादुर चन्द पक्षले राप्रपा चन्द गठन गरे ।

त्यस वेलाको पञ्चायतकालीन समयको एक पक्ष ‘पञ्च’ राप्रपा (थापा) र ‘छुट्टै पञ्च’ राप्रपा (चन्द) पक्षमा समेटिए । केसीलाई थापा पक्षले आफ्नामेतिर राखे । केसी सूर्यबहादुर थापाको क्याबिनेटमा मन्त्री भइसकेका थिए । सो समयमा थापा पक्षलाई उदार र चन्द पक्षलाई अनुदार पन्चको रुपमा नेता, कार्यकर्ताहरु विश्लेशण गर्ने गर्दथे ।

थापाको पार्टीमा केसी महामन्त्री र प्रवक्ता थिए । तर, २०४६ सालको जनआन्दोलन सफल भई देशमा २०४७ साल कार्तिक २३ गते नयां संविधान आएपछि २०४८ मा सम्पन्न पहिलो आम निर्वाचनमा केसी नेपाली कांग्रेसमा फर्किसकेका थिए । २०४८ वैशाख २९ गतेको आम निर्वाचनमा उनले नुवाकोटको तत्कालीन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको तर्फवाट चुनाव जिते । उक्त निर्वाचनमा १ बाट राप्रपा चन्दका डा. प्रकाशचन्द्र लोहनी र २ बाट केसीकै सहोदर जेठा मामा गणेश पण्डितले नेकपा एमालेबाट निर्वाचन जितेका थिए ।

केसीले सोही क्षेत्रवाट फेरि २०५१ कार्तिकमा भएको मध्यावधि निर्वाचन पनि जिते । तर, २०५६ सालको आम निर्वाचनमा एमालेका महेन्द्रवहादुर पाण्डेसँग पराजित भए ।
२०६४ चैत्र २८ गतेको पहिलो संविधानसभा निर्वाचनमा केसीले नुवाकोट १ मा पराजय व्यहोरे । ती दुई हारलाई उनले २०७० को दोस्रो संविधानसभा निर्वाचनबाट जितमा बदले र सोही सभावाट देशमा अहिलेको संविधान जारी भएको हो ।

केसीले त्यसलाई २०७४ मा निन्तरता दिन सकेनन् । नेकपा एमालेका नारायणप्रसाद खतिवडासँग हारे । केसीले तीन वर्ष अगाडि २०७९ मा चुनाव जित्दा रास्वपाका सुमन पाण्डे र एमालेका खतिवडालाई हराएका थिए ।

अहिले नुवाकोट २ मा जगदीश्वरनरसिंह केसी रास्वपाका डा. अचुतम लाछिानेसंग पराजय व्यहोरे । यसपटक अर्जुननरसिंह केसी खसआर्यवाट समानुपातिक सांसदका रुपमा संसदमा प्रवेश गरेका छन् । ज्येष्ठ सदस्यका नाताले सभामुख चयन नभएसम्मका लागि उनी संसदका ‘मूली’, अर्थात् अध्यक्षकै रुपमा रहने भएका छन् ।

यदि नेपाली कांग्रेसको संसदीय दलले उनलाई नेता बनायो भने उनका निम्ति अर्को ऐतिहासिक तथा विशेष अवसर प्राप्त हुन्छ । यद्यपि,उनले आफु सो पदका लागि क्षमतायोग्य व्यक्ति भएको र त्यसमा आफ्नो दावी रहने वताइसकेका छन् । केसीले आकांक्षा गरे अनुसार त्यसो हुन्छ कि हुँदैन ? केहि दिनको प्रतिक्षा गर्नुपर्ने अवस्था आएको छ ।

त्यसो त केसीले आफ्नो कांग्रेस यात्रा ‘पञ्च’ भन्दा पहिल्यै देखि रहेको वताउंदै आएका छन् । भारतको बाराणसीमा नेपाली कांग्रेससम्वद्ध युवाहरुले २०१८ सालमा गठन गरेको लोकतान्त्रिक समाजवादी युवा लीगको केसी केन्द्रीय सदस्य थिए । उनीसंग निकटस्थहरु पञ्चायती समय र चुनावलाई उपयोग गर्नका लागि मात्र उनले राष्ट्रिय पञ्चायतमा उम्मेदवारी दिएका हुन् । तर, समयले उनलाई ‘उपयोगवादी’ बाट ‘उपभोगवादी’ बनाइदियो ।

निर्दल हटेर बहुदल आउँदासम्म उनी पूर्वपञ्चकै घानमा देखिए । उनी आफु जुन युगमा जुन राजनीति गरेपनि देश र जनताको परिवर्तन र प्रजातन्त्रका लागि गरेको वताउंछन् । आफुलाई सदैव मध्यमार्गी र प्रेसमैत्री राख्न रुचाउने केसी उनी स्वयंले यस पटक कांग्रेस संसदीय दलको नेतामा ‘स्वाभाविक दावी’ भनिरहेका छन् ।

पार्टी नेतृत्व र संसदीय दलमा रहने अन्य सांसदको अभिव्यक्ति आइसकेको छैन । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचितमध्ये ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएको भोलिपल्ट अन्य सांसदहरुलाई सपथ खुवाएका हुन् । अब प्रतिनिधिसभाको बैठकले नयाँ सभामुख चयन नगरेसम्म उनले उक्त जिम्मेवारी सम्हाल्नेछन् ।

संसद सचिवालयका अनुसार केसीले सभामुखको हैसियतमा पाउने न्यूनतम सेवा, सुविधा पाएका छन् । त्यसअन्तर्गत एउटा गाडी र नेपाल प्रहरीको तर्फबाट एकजना निजी सुरक्षा अधिकारी (पीएसओ) पाएका हुन् । सांसदहरुले सपथ गरे पनि प्रतिनिधिसभाको पहिलो बैठक हाल निश्चित भएको छैन ।

बैठक बस्नका लागि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान हुनुपर्छ । बहालवाला मन्त्रिपरिषद्ले सिफारिस नगरेका कारण वालेन्द्र शाह वालेनको नेतृत्वमा नयाँ बन्ने मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रतिनिधिसभा सदस्यको बैठक आह्वान हुने जनाइएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथपछि राष्ट्रपतिको कार्यालयले नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम नयाँ सरकार गठनका निम्ति आह्वान हुने सम्भावना छ ।

उक्त आह्वानअनुसार एक दलको बहुमतको सरकार गठन हुन्छ । उक्त सरकारका प्रधानमन्त्री र मन्त्रीको शपथ समारोहको व्यवस्थापन राष्ट्रपति कार्यालयले नै गर्ने हो ।
शपथपछि बहाल हुने मन्त्रिपरिषद्ले आवश्यक ठानेमा पहिलो वा दोस्रो बैठकबाट प्रतिनिधिसभाको बैठकको मिति राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । त्यसअनुसार राष्ट्रपतिले बैठकको आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

संविधानको धारा ९३ ले राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था गरेको छ । मन्त्रिपरिषद्ले संविधानको सोही व्यवस्थाको सीमाभित्र रहेर सिफारिस गर्ने प्रचलन छ ।

सपथ खाने केसी र खुवाउने राष्ट्रपति पौडेल ५६ वर्ष अगाडि पनि संगै

नेपालको राजनीतिमा धेरै संयोगहरु जुरेका हुन्छन् । त्यसमध्ये संसदको ज्येष्ठ सदस्यका रुपमा सपथ खाने केसी र उनलाई सपथ खुवाउने राष्ट्रपति रामचन्द्र पौडेल समकालीन हुन् । लामो राजनीतिक यात्राका क्रममा शपथ खाने केसी र उनलाई सपथ खुवाएका राष्ट्रपति पौडेलले ५६ वर्षअघि एउटै समितिमा रहेर काम गरेका थिए ।

यसर्थ उनीहरु समकालीन हुन् । पौडेल राष्ट्रपति हुनुअघि नेपाली कांग्रेसका वरिष्ठ नेता थिए । उनी २०७९ साल फागुन २५ गते राष्ट्रपति भएका थिए । पौडेल र केसी दुवै विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट आएका नेता हुन् । यसको सुरूआत २०२६ सालमा भएको थियो ।

त्यस वर्ष बिपी कोइरालाको निर्देशनमा विद्यार्थी प्रदर्शन परिचालन समिति गठन गरिएको थियो, जसमा अर्जुननरसिंह केसी संयोजक र रामचन्द्र पौडेल तथा शेरबहादुर देउवा सदस्य थिए । यी तीन जनाको राजनीतिक सुरूआत पञ्चायती व्यवस्थाको त्यही प्रतिबन्धित कालखण्डमा विद्यार्थी नेताका रूपमा भएको थियो ।

राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाएको पञ्चायती व्यवस्थाविरूद्ध उनीहरूले विद्यार्थी जीवनदेखि नै आवाज उठाएका थिए । अर्जुननरसिंह र रामचन्द्र त्यसबेला क्याम्पसमा राजनीति गर्थे । अर्जुनरसिंह शंकरदेव क्याम्पसमा विद्यार्थी अध्यक्ष थिए भने रामचन्द्र सरस्वती क्याम्पसमा विद्यार्थी युनियन अध्यक्ष थिए ।

सभामुख चयनको प्रक्रिया

संविधानको धारा ९१ अनुसार प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । बिहीबार नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण समारोहमात्रै हो, पहिलो बैठक भने होइन । यद्यपि, राष्ट्रपतिसमक्ष निर्वाचन निर्वाचन परिणाम पेश गरेको मितिले ३० दिनभित्र संघीय संसदको बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था अनुसार अब २३ दिनभित्र बैठक आह्वान गरिसक्नुपर्नेछ ।

निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन परिणामको प्रतिवेदन चैत ५ गते पेश गरेको थियो । त्यसअनुसार वैशाख ५ गतेभित्र संघीय संसदको बैठक बसिसक्नुपर्छ । उक्त बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाको बैठकमा सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

त्यसका लागि पहिलो बैठकले नै निर्वाचनको तालिका पारित गर्नसक्छ । सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न भएर ती पदाधिकारी निर्वाचित भएको घोषणा हुनुअघिसम्म ज्येष्ठ सदस्यले सभामुखका सम्पूर्ण भूमिका निर्वाह गर्नुपर्ने व्यवस्था छ ।

सरकारको विश्वासको मत

संविधानको धारा ७६ को उपधारा २ ले प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्रिले सो पदमा नियुक्त भएको मितिको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ । त्यसैले सभामुख र उपसभामुख निर्वाचनलगत्तै विश्वासको मत लिने कार्यसूची आउने संसद सचिवालयस्रोतले जनाएको छ ।


सर्वाधिक रुचाइएको