आगामी योजना तर्जुमाका लागि छलफल
मकवानपुर । प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगतको वन निर्देशनालय हेटौंडाले आगामी आर्थिक वर्षका योजना तर्जुमाका लागि छलफल सुरु गरेको छ ।
प्रदेश स्तरिय वन तथा वातावरण क्षेत्रको नीति तर्जुमा तथा आगामी आर्थिक बर्ष २०७६÷०७७ को योजना तर्जुमा गर्नका लागि बुधबारबाट सुरु भएको छलफल तीन दिनसम्म चल्नेछ ।
आगामी आर्थिक बर्षका लागि प्रदेश– ३ को वन निर्देशनालय हेटौंडाले आफ्ना नीति तथा कार्यक्रम बनाउँदै छ । कार्यक्रमबाट आगामी आर्थिक वर्षका लागि गरिने कामको सबै खाका तयार पारिने मन्त्रालयका सचिव शिब वाग्लेले जानकारी दिए ।
प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति रमा आले मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश ३ का डिभीजन वन कार्यालयका प्रमुख, लेखा शााखा तथा योजना शाखाका कर्मचारी लगायतको सहभागिता रहेको जनाइएको छ ।