प्लाष्टिकमुक्त वडा वनाइदै
बिदुर – नुवाकोटको बिदुर नगरपालिका ५ मा सरसफाई गरि वडालाई “प्लास्टिक मुक्त वडा” बनाउने कार्य सुरु गरिएको छ । यसका लागि स्थानीय युवा, सामाजिक अगुवा तथा जनप्रतिनिधि तथा सरकारी कार्यालय जुटेका छन् । यस कार्यमा डिभिजन वन कार्यालय नुवाकोट, बिदुर नपा ५ कार्यालय तथा लामीबगैँचा सामाजिक युवा क्लबको अगुवाई रहेको छ । सर्वसाधारणसहित संयुक्त रुपमा सञ्चालन गरिएको उक्त अभियानले प्लाष्टिमुक्त वडा वनाउने लक्ष्य लिएको छ ।

विभिन्न सामाजिक संघसंस्था, सर्वसाधारण, समाजसेवी, राजनीतिक दल, अभियन्ता तथा सरोकारवालासँग छलफल, अन्र्तक्रिया तथा वक्तृत्वकला कार्यक्रम गरेर अभियानलाई औपचारिक रूपमा सुरुवात गरिएको थियो । अभियानको दोस्रो चरण अन्तर्गत सार्वजनिक स्थलहरूमा फालिएका प्लास्टिकजन्य तथा अन्य फोहोर संकलन र व्यवस्थापनको कार्यलाई तीव्र रूपमा अघि बढाइएको छ । तीन सातादेखि उक्त अभियान सन्चालन भइरहेको छ ।

हाल विभिन्न सार्वजनिक स्थानमा छरिएर रहेका फोहोर संकलन गर्ने कार्यको नेतृत्व लामीबगैँचा सामाजिक युवा क्लबले गरिरहेको छ । स्थानीय समुदायले समेत उल्लेखनीय सहयोग पु¥याइरहेको क्लवका अध्यक्ष सुजन गजुरेलले वताए । उनका अनुसार विदुर ५ का सम्पूर्ण क्षेत्र सफा गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको र यसका लागि एक महिनाको कार्ययोजना तयार गरिएको जनाइएको छ ।

क्लबका पदाधिकारी तथा सदस्यहरू स्वयंसेवकको भूमिकामा सक्रिय रूपमा खटिएका छन् । हालसम्म १० भन्दा वढि स्थानको सरसफाइ सम्पन्न भइसकेको छ ।
हालसम्म झण्डै १२ टन फोहोर संकलन भइसकेको क्लबले जनाइएको छ । यही अनुपातमा अभियान अगाडि बढेमा करिब ५० देखि ६० टनसम्म फोहोर संकलन हुने अनुमान गरिएको छ । अभियान अन्तर्गत विभिन्न स्थानमा डस्टबिन राख्ने, प्रत्येक घरमा पुगेर कपडाको झोला वितरणसहित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा प्लास्टिकको विकल्पका रूपमा पेपर ब्याग र कपासका झोला प्रयोगलाई प्रोत्साहन गर्ने योजना समेत रहेको छ ।

यसका साथै स्थानीयस्तरमै पेपर ब्याग तथा कपडाका झोला बनाउने तालिम सञ्चालन गरी रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । फोहोर व्यवस्थापनलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन बिदुर नगरपालिकाले न्यूनतम शुल्क निर्धारण गरी नियमित फोहोर संकलन तथा व्यवस्थापनको व्यवस्था मिलाउन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । समयमै उचित व्यवस्थापन गर्न नसके भविष्यमा फोहोरको समस्या अझ विकराल बन्न सक्ने भन्दै सबै पक्ष सचेत बन्नुपर्नेमा जोड दिइएको छ ।

स्थानीयस्तरबाट सुरु गरिएको यो अभियान वातावरण संरक्षण, सरसफाइ तथा जनचेतना अभिवृद्धिको अभियानका रूपमा लिइएको डिभिजन वन कायाृलय नुवाकोटले जनाएको छ । वातावरण संरक्षणका लागि ‘प्लास्टिक मुक्त वडा’ बनाउने लक्ष्यसहित सञ्चालन भइरहेको ‘एक जिल्लाः एक वडा प्लास्टिक मुक्त अभियान’ प्रशंसनीय रहेको डिभिजनल वन अधिकृत प्रदीपनाथ शर्माको भनाई छ । विदुर नपा ५ का वडाध्यक्ष लिलानाथ न्यौपाने र क्लबका अध्यक्ष सुजन गजुरेलको समन्वयमा जनप्रतिनिधि, कर्मचारी, युवावर्ग तथा सामाजिक संघसंस्थाहरूको सक्रिय सहभागितासहित वडाका विभिन्न सार्वजनिक स्थानमा अव्यवस्थित रुपमा फालिएका प्लास्टिकजन्य तथा अन्य फोहोरमैलाको संकलन गरी उचित व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।

वातावरण प्रदुषण नियन्त्रणले सार्थकता पाउने अपेक्षा गरिएको छ । यस अभियानले वातावरण संरक्षण, सरसफाइ र जनचेतनामूलक सन्देश प्रवाह गर्दै वडालाई स्वच्छ र हराभरा बनाउने अभियानमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ । स्थानीयबासीको सक्रियता, लगनशीलता र सहकार्यका कारण ‘प्लास्टिक मुक्त वडा’ बनाउने लक्ष्य छिट्टै पूरा हुने विश्वास गरिएको छ ।















































