सर्वसाधारणका लागि विशेषज्ञ उपचार शिविर
बिदुर – गाउंवासीको सुविधाका लागि नुवाकोटको पश्चिमी भेग काहुलेमा वृहत स्वास्थ्य उपचार शिविर गरिएको छ । गाउंवासी सर्वसाधारणले स्वास्थ्य उपचार गराएका छन् । राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटले किस्पाङ गाउँपालिकाको सहकार्यमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

शिविरमा चार सय ६ जनाले उपचार विभिन्न उपचार सेवा लिएका छन् । सेवा नै धर्म हो भन्ने उद्देश्य साथ सन्चालित किस्पाङ–३ काहुले स्वास्थ्य चौकीमा सन्चालित विभिन्न विशेषज्ञहरूको शिविरमा विभिन्न स्वास्थ्य सेवाहरु प्रदान गरिएको थियो । शिविरमा शल्य चिकित्सक, हाडजोर्नी, स्त्रीरोग, जनरल फिजिसियन, आँखासहितका विशेषज्ञबाट सेवा प्रदान गरिएको छ ।

शिविरमा एक सय ५२ जनाको भिडियो एक्सरे, ६६ जनाको ‘भिआइए’ जाँच र तीन जनाको प्रयोगशाला परीक्षण सेवा, इसिजी, माइनर ओटीका साथै मोतियाबिन्दुलगायत रोगको निःशुल्क उपचार गरिएको शिविरका संयोजक तथा समाजका सहसचिव विनोद न्यौपानेले जानकारी दिए । उनका अनुसार उपचारका साथै आवश्यकताअनुसार औषधि तथा चस्मा वितरण गरिएको र थप उपचार गर्नुपर्नेका हकमा सम्बन्धित अस्पतालमा रिफर गरिएको हो । समाजका संस्थापक अध्यक्ष डा केदारनसिंह केसीले एक सय एक वर्षीय ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेर शिविरको उद्घाटन गरेका थिए ।

समाजका अध्यक्ष उदयबहादुर रानामगरले सामाजिक र विकासका काममा राष्ट्रसेवकहरूले सक्दो भूमिका निर्वाह गर्दै आएको बताए । शिविरका लागि किस्पाङ गाउँपालिका, त्रिशूली अस्पताल प्रमुख डा राजेन्द्र लामा, विभिन्न रोगका विशेषज्ञ, स्वास्थ्यकर्मी, किस्पाङ बहुप्राविधिक शिक्षालयका प्रशिक्षक डा अनिष दाहाललगायतले सेवा उपलव्ध गराएका थिए । शिविरमा किस्पाङ गापा ५ का वडाध्यक्ष प्रकाश डिमडुङ, सस्थाका सचिव राजु प्याकुरेल, कोषाध्यक्ष कृष्णराज खतिवडा, गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडालगायत शिविरमा सहभागी रहेका थिए ।

शिविरमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा रवीन पौडेल, भिडियो एक्सरे विज्ञ डा कैलाश विक, साधारण चिकित्सातर्फ डा अशोक मिजार, स्त्रीरोग विशेषज्ञ डा तुलजा श्रेष्ठलगायतले सर्वसाधारणलाई उपचार सेवा दिएका थिए । कार्यक्रममा तीन लाखभन्दा बढीको निःशुःक औषधि वितरण गरिएको आयोजकले जनाएको छ ।
शिविरमा भिडियो एक्सरे, भिआइए, ल्याब सेवा, इसिजी, निःशुल्क चस्मा वितरण, माइनर ओटी, मोतियाया बिन्दुलगायत जटिल रोगको निःशुल्क उपचार तथा औषधि तथा चस्मा वितरण गरी थप उपचार गर्नु पर्न हकमा अस्पताल रिफर गरिएको छ ।



















































