खोलामा करेण्ट लगाएर माछा मार्न रोक
बिदुर – मानवीय तथा जीवजन्तुको सुरक्षामा प्रतिकुल रहेको खोलामा करेण्ट लगाएर माछा मार्ने कार्य रोक लगाउन नुवाकोटको शिवपुरी गाउँपालिकाले आवस्यक कदम चालेको छ । यस कार्यमा तदारुकता अपनाउंन सो गापाले मातहतका प्रहरीलाई निर्देशन दिएको छ । शिवपुरी गापाले लिखु खोलामा करेन्ट लगाएर माछा मार्ने गैह्र कानूनी कार्य रोक्न सम्बन्धित प्रहरी चौकीहरूलाई निर्देशन दिएको हो ।

शिवपुरी गापाले शेरावगर, सिक्रे, पाटीभञ्ज्याङ र छहरे प्रहरी चौकीलाई पत्र पठाउँदै उक्त कार्य नियन्त्रण गर्न कडाइका साथ अनुगमन गर्न आग्रह गरेको हो । शिवपुरी गापाका अनुसार जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको ‘हेलो सरकार’ मा परेको गुनासोका आधारमा यो कदम चालिएको हो । गत २०८२ साल माघ २९ गते दर्ता भएको गुनासोमा लिखु खोलामा करेन्ट प्रयोग गरेर अवैध रूपमा माछा मार्ने काम भइरहेको उल्लेख गरिएको थियो ।

सोही विषयलाई ध्यानमा राख्दै शिवपुर िगापाले आफ्नो क्षेत्रभित्र पर्ने लिखु खोलामा यस्ता गतिविधि रोक्न प्रहरी प्रशासनलाई सक्रिय रूपमा निगरानी गर्न अनुरोध गरेको हो । साथै, गैह्र कानूनी कार्यमा संलग्न व्यक्तिहरूलाई प्रचलित ऐन तथा नियमअनुसार आवश्यक कारवाहीका लागि आधिकारिक निकायमा पेश गर्न पनि भनिएको छ ।शिवपुरी गापाका गुनासो सुन्ने अधिकारी तथा अधिकृत सातौं विष्णुप्रसाद न्यौपानेद्वारा जारी पत्रमा प्राकृतिक स्रोत संरक्षण र कानूनी व्यवस्थाको पालनामा सबै पक्ष गम्भीर हुनुपर्ने उल्लेख गरिएको छ । करेण्ट लगाएर नदीमा माछा मार्दा मानव तथा जीवजन्तुको स्वास्थ्य सुरक्षामा प्रतिकुल असर पर्ने जनाइएको छ ।











































