अन्तरपालिका न्यायिक कार्यक्रम
बिदुर – नुवाकोटको पन्चकन्यामा पहिलो पटक अन्तरपालिका न्यायिक कार्यक्रम सन्चालन गरिएको छ । कार्यक्रममा पालिकाका उपप्रमुखहरुले आआफ्ना अनुभव आदान–प्रदान गरेका छन् । पञ्चकन्या गाउँपालिकाको न्याय समितिको आयोजनामा अन्तरपालिका स्तरीय न्यायिक अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

पन्चकन्या गापाकी उपाध्यक्ष तथा न्याय समितिकी संयोजक बिमला केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी नुवाकोटका पालिका उपप्रमुखहरुले आआफ्ना अनुभवहरु साटासाट गरेका थिए । कार्यक्रममा नुवाकोटका विदुर र वेलकोटगढी नगरपालिका तथा १० गाउँपालिकाका उपप्रमुखहरू, न्यायिक समितिका पदाधिकारीहरू, जनप्रतिनिधिहरू, पञ्चकन्या गापाका वडाध्यक्षहरू, कर्मचारीहरू तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय तहमा न्याय सम्पादनका क्रममा प्राप्त अनुभव, न्याय तथा कनूनी सचेतना सम्वन्धि असल अभ्यास, देखिएका समस्या तथा चुनौती, कानुनी प्रक्रिया, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय तथा आगामी कार्यदिशाका विषयमा सहभागीहरूबीच सार्थक अनुभव आदान–प्रदान तथा छलफल गरिएको थियो ।

यस प्रकारका कार्यक्रमले स्थानीय तहका न्याय समितिहरूबीच आपसी सिकाइ, समन्वय र सहकार्यलाई थप सुदृढ बनाउँदै नागरिकलाई सरल, सहज, छिटोछरितो र प्रभावकारी न्यायिक सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको आयोजक पन्चकन्या गापाकी उपाध्यक्ष विमला केसीको भनाई छ । उनका अनुसार यस कार्यक्रममा आगामी दिनमा न्यायिक समितिले गर्नुपर्ने सकारात्मक कार्यहरुकोसमेत योजना तय गरिएको छ ।






















































