वडाद्वारा पोषण भत्ता घोषणा
बिदुर – घट्दो जन्मदर बढाउने उद्देश्यले नुवाकोटको बिदुर नगरपालिका ४ वडा कार्यालयले पोषण भत्ता दिने घोषणा गरेको छ । बदलिँदो सामाजिक–आर्थिक परिवेशमा वडाले उक्र निर्णय गरेको हो । नेपालमा पछिल्ला वर्षहरूमा जन्मदर निरन्तर घट्दै गएको र अधिकांश परिवार एक वा बढीमा दुई सन्तानमै सीमित हुने क्रम बढिरहेका बेला विदुर नपा –४ ले आफ्नो वडाभित्र तेस्रो सन्तान जन्माउने दम्पत्तिलाई २० हजार रुपैयाँ प्रोत्साहनस्वरूप पोषण भत्ता उपलब्ध गराउने नीति ल्याएको छ ।

वडाले तेस्रो बच्चा जन्मिए वापत २० हजार रुपैयाँ दिने भएको छ । वडा कार्यालयले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममै समावेश गरेरै एक दम्पत्तिबाट तेस्रो सन्तान जन्मिए २० हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउने निर्णय गरेको वडाध्यक्ष नीलमबाबु ढुङ्गेलले बताए । उनका अनुसार वडा कार्यालयले पछिल्लो समयमा घट्दो जनसंख्याको दरलाई वृद्धि गर्न, परिवारलाई सन्तानप्रति सकारात्मक प्रेरणा दिन तथा दीर्घकालीन रूपमा जनसंख्याको सन्तुलन कायम राख्न यो नौलो कार्यक्रम ल्याएको हो ।

नेपालमा पछिल्ला वर्षहरूमा ढिलो विवाह गर्ने, वैदेशिक रोजगारी, बढ्दो जीवनयापन खर्च, शिक्षा र स्वास्थ्यमा हुने उच्च लगानी तथा साना परिवारप्रतिको आकर्षणका कारण धेरै दम्पती एक वा बढीमा दुई सन्तानमै सीमित हुने गरेका छन् । तेस्रो सन्तान जन्माउने परिवार अहिले अपवादजस्तै बन्न थालेको अवस्थामा बिदुर–४ ले ल्याएको प्रोत्साहन कार्यक्रमलाई स्थानीय तहबाट जनसंख्या व्यवस्थापनसम्बन्धी नयाँ अभ्यासका रूपमा लिइएको छ ।

कपियले नगद प्रोत्साहनले मात्र जन्मदर उल्लेख्य रूपमा बढाउन नसक्ने, शिक्षा, स्वास्थ्य, रोजगारी, बाल हेरचाह तथा परिवारमैत्री सामाजिक सुरक्षाजस्ता पक्षलाई पनि समान रूपमा प्राथमिकता दिनुपर्ने बताउँदै आएका छन् । जनसंख्या घट्दै जानु दीर्घकालीन रूपमा श्रमशक्ति, उत्पादन र आर्थिक गतिविधिमा असर पार्न सक्ने भए पनि सन्तान जन्माउने निर्णय अन्ततः प्रत्येक परिवारको व्यक्तिगत, सामाजिक र आर्थिक अवस्थासँग जोडिएको विषय भएकाले यस नीति प्रभावकारी हुने–नहुने विषय भने परिक्षणकै रुपमा रहेको छ ।











































