३५ सय बालवालिकाले खाए स्वर्णविन्दु प्राशन

– रोग प्रतिरक्षालाई मजवुत वनाउने
लोकखवर स्वास्थ्य संवाददाता
२०८३ श्रावण २, शनिबार ००:२३

बिदुर – रोग प्रतिरक्षा प्रणालीलाई मजवुत वनाई संक्रमणवाट जोगाउनेलगायत विभिन्न विशेषता भएको औषधि स्वर्णविन्दु प्राशन नुवाकोटमा तीनहजार पांचसय जना वालवालिकाहरुलाई खुवाइएको छ । विशेष प्रकारको उक्त औषधि एकदेखि पांच वर्ष उमेर समूहका वालवालिकाहरुलाई खुवाइदै आएको छ ।  आयुर्वेद तथा वैकल्पिक  चिकित्सालय नुवाकोटले गत वर्षदेखि सन्चालन गरेको उक्त कार्यक्रममा हालसम्म झण्डै तीनहजार पांचसय वालवालिकाहरुलाई स्वर्णविन्दु प्राशन खुवाइएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०८२/०८३ मा ६ पटक गरिएको स्वर्णबिन्दु प्राशन कार्यक्रम संचालन कार्यक्रममा कुल तीनहजार चारसय ९८ जना वालवालिकाहरुलाई विशेष प्रकारको उक्त औषधि स्वर्णबिन्दु प्राशन खुवाइएको कार्यालय प्रमुख डा. नरेन्द्रप्रसाद गिरीको भनाई छ ।  उनका अनुसार पछिल्लो पटक एकैदिन पांचसय ८६ जना वालवालिकाहरुलाई स्वर्णबिन्दु प्राशन खुवाइएको छ । उक्त कार्यक्रम निरन्तर सन्चालन गरिने उनको भनाई छ ।

यस कार्यक्रमको प्रभावकारिता र बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव परेको चिकित्सकहरुको भनाई छ । निःशुल्क रुपमा उपलव्ध गराइने विशेष प्रकारको यस औषधि खुवाउंदा वालवालिकाहरुमा स्मरणशक्ति र एकाग्रता वढाउने, शारिरीक बल र पाचन प्रणालीलाई मजवुत वनाई संक्रमणबाट जोगाउने वालवालिकाहरुमा दीर्घकालीन स्वास्थ्य सुरक्षामा कार्य गर्ने जनाइएको छ ।


सर्वाधिक रुचाइएको