गायक थापाको गीत सार्वजनिक
बिदुर – गायक राजु थापाको नयाँ लोकदोहोरी गीत बर पिपलको छायाँले सार्वजनिक भएको छ । यसमा चर्चित हास्य कलाकार यादवप्रसाद देवकोटा अर्थात् सरापेलगायतको अभिनय रहेको छ । म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतमा गायक राजु थापाको स्वर र शब्द रहेको छ ।
गीतमा लय भने लोकप्रिय गायक भोजराज काफ्लेको छ । भोजराज काफ्लेको नै निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा यादवप्रसाद देवकोटा सरापे, मेलिना ठकुरी, लक्ष्मण चौलागाई, सुदर्शन आचार्य र होम तामाङको अभिनय रहेको छ । रेशम दर्लामीले छायाङ्कन गरेको यस म्युजिक भिडियोलाई प्रदीप दाहालले सम्पादन गरेका हुन् ।

म्युजिक भिडियो रुचाइएको र यसको पक्ष निकै सुन्दर बनेको युट्युबमा प्रतिक्रियाहरू आएका छन् । मौलिकताले भरिएको गीत दर्शक श्रोताहरुले मन पराइदिनुभएको गायक थापाले वताए । उसो त गायक थापाले यस भन्दा अगाडि सिन्धुलीगढी घुमेर हेर्दा रिमेक गरिएको बोलको गीतमा आवाज दिएका थिए । सिन्धुलीगढी घुमेर हेर्दा यही गीतका गायक श्रष्टा कृष्णविक्रम थापाका छोरा हुन् राजु थापा ।
गायक थापाले आफ्ना पिताले गीतसंगीतमा गर्नुभएको मेहनत, त्याग, समर्पणलाई स्मृतिमा लिदै पिताका केही मौलिकता र यथार्थ परक रहेको गीतलाई पुनः दर्शक माझ स्मरण गराउँदै अघि बढ्ने बताए । गीतकर्ममा लागिरहने उनको भनाई छ ।












































